समाज

प्रहरी चौकी अन्यत्र नसार्न सांसदको माग

प्रहरीचौकी सछितापोखरीलाई यथास्थानमा राख्नका लागि गृहमन्त्री रामबहादुर थापा समक्ष माग राख्न पुगेका प्रतिनिधिसभा सांसद बिशाल भट्टराई लगायत । तस्बिर:नागरिक

खोटाङ– प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्। मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै प्रतिनिधिसभा सांसद भट्टराईले २०२१ सालमा स्थापना गरिएको प्रहरी चौकीलाई अन्यत्र नसार्न माग गरेका हुन्।

प्रहरी चौकीलाई सोही वडाको याङ्सोलाटारमा रहेको गाउँपालिकाको केन्द्रमा सार्ने तयारी भएपछि स्थानीयले समेत प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गर्दै आएका छन्। मन्त्री परिषदको गत असोज ७ गतेको बैठकले प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्र याङसोलाटारमा सार्ने निर्णय गरेपछि यथास्थानमा राख्नका लागि प्रतिनिधिसभा सदस्य भट्टराई गृहमन्त्रालय पुगेका हुन्।

प्रहरी चौकी सछितापोखरीलाई यथास्थानमा कायम गर्नका लागि बनेको सहयोग समितिका संयोजक केशव कार्कीले मंसिर अन्तिम साता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै अन्यत्र स्थानान्तरण नगर्न माग गरेका थिए। दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका जनप्रतिनिधि, दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, स्थानीयको गत कात्तिक २९ गतेको बैठकले साविककै स्थानमा स्थायीत्व दिनका लागि नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको थियो।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, सछितापोखरी, छोरम्बु, बतासे, डाँडागाउँ, टेम्मा, खोटेहाङ गाउँपालिकाको चिप्रिङ लगायतका ठाउँका स्थानीय लाभान्वित हुँदै आएको प्रहरी चौकीलाई अन्यत्र सार्न अस्वभाविक र दुःखद भएको सांसद भट्टराईले बताए। ‘मन्त्री परिषद र जिल्ला सुरक्षा समितिले गलत निर्णय गरेको छ,’ सांसद भट्टराईले भने, ‘गाउँपालिकाको केन्द्रमा पनि प्रहरी चौकी चाहिन्छ तर ५५ वर्ष अघिदेखि रहेको प्रहरी चौकीलाई पनि हटाउन उपयुक्त होइन।’

गाउँपालिकाको केन्द्र र प्रहरी चौकी एउटै वडामा परेका कारण गृहमन्त्रालयले सोही प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्रमा सार्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। ‘हरेक गाउँपालिकाको केन्द्रमा एउटा प्रहरी चौकी राख्ने सरकारको नीति छ। तर, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको केन्द्र र प्रहरी चौकी एउटै वडामा पर्छ। एउटै वडामा दुई वटा प्रहरी चौकी स्थापना गर्ने व्यवस्था नभएकाले सोही प्रहरी चौकीलाई केन्द्रमा सार्ने तयारी छ,’ डिएसपी गौतमले भने, ‘स्थानीयको मागलाई पनि सम्बोधन गर्नेगरी प्रहरी चौकी व्यवस्थापनको काम हुनेछ।’ वडा कार्यालय सछितापोखरीले पनि मंसिर ७ गते प्रहरी चौकीलाई यथास्थानमा राख्नुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित माग राखेको थियो।

गाउँपालिकाको मध्यभागमा रहेको, व्यपारिक केन्द्रकारुपमा रहेको, ऐतिहासिक पोखरी, धार्मिकस्थल लगायतका संरचना भएको सछितापोखरीका स्थानीयले चार रोपनी भन्दा बढि जग्गा उपलब्ध गराएर भवन बनाइदिएपछि प्रहरीचौकी स्थापना गरिएको थियो।

द्धन्द्धकालमा सो भवन ध्वंस्त बनाइए पनि स्थानीयकै सहयोगमा पुनः नयाँ भवन निर्माण गरिएको स्थानीय अगुवा सुर्य राईले बताए। ईलाका प्रहरी कार्यालय खोटाङबजार, ईलाका प्रहरी कार्यालय सिमपानी, जिल्ला प्रहरी कार्यालयकोबीचमा पर्ने भएकाले सुरक्षाका दृष्टिले सछितापोखरीबाट प्रहरी चौकी हटाउन नहुने स्थानीयको दावी छ।

 

प्रकाशित: २९ पुस २०७६ १२:२८ मंगलबार

प्रहरी_चौकी सांसद माग