समाज

जीर्ण भवनमा पठनपाठन, जोखिममा विद्यार्थीको ज्यान

सरस्वती माध्यमिक विद्यालय पाङ। तस्बिरः फोटो दिनेश/नागरिक

रोल्पा - रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका १, पाङ टाईवाङका दर्जनौ विद्यार्थीहरु उच्च जोखिममा छन्। उनीहरु पुरानो चर्किएर कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको भवनभित्र बस्न बाध्य छन्। उनीहरु दैनिक ६ घण्टा सो भवनमा बस्छन्।

 पाँच सय ५३ विद्यार्थी रहेको सरस्वती माध्यमिक विद्यालयका कक्षा दुई, तीन र पाँच कक्षका  विद्यार्र्थी बस्ने भवन अत्यन्त जीर्ण अवस्थामा छ। आवस्यक भवन अभावका कारण जीर्ण भवनमा पढाउनुको विकल्प नभएको शिक्षकहरु बताउँछन्। विद्यालयको अनुगमन र अवस्थाको बारेमा जानकारी लिन कहिल्यै कोहि नआएको विद्यालयका प्रधानाध्यापक उमेश पुनमगरले बताए।

‘विद्यार्थी जोखिममा छन्। पोहर एक पटक गाउँपालिकाबाट अनुगमन आएको बाहेक अहिलेसम्म कोहि फर्केर आएका छैनन्।’ प्रअ पुन भन्छन् ‘भवन भत्किएर बच्चाहरुलाई चोट लाग्ला भन्ने चिन्ताले सताइरहन्छ।’ धुलाम्य कक्षा कोठा लिपपोत गर्ने अवस्थामा पनि छैन। भुई लिपे पनि भित्ताबाट झरिरहने धुलो र माटोले कक्षा कोठा सधै धुलोले भरिएको हुन्छ। ‘धुलो त छँदैछ, पानी पर्दा चुहिने समस्या पनि उस्तै छ।’ शिक्षक रामप्रशाद पुनले भने ‘कहाँ नेरबाट ढुङ्गा खस्छ र बच्चाको टाउकोमा लाग्छ भन्ने चिन्ताले सताउँछ।’ पुन जस्तै शिक्षिका क्युरी घर्ती पनि विद्यालय भवनको अवस्था देखेरे दिक्क रहेको बताउँछिन्।

विद्यालयको अवस्था देखे सुनेका गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले समस्या समाधान गरिने बताए। ‘यो आर्थिक वर्षमा समस्या समाधान हुन्छ। छिटै नयाँ भवनको लागि प्रकृया अगाडि बढाइने छ।’ उनले भने। विद्यालयको अवस्था नजिकबाट देखेका वडा अध्यक्ष मती पुनले भवन जीर्ण भएको बताउदै आउने बर्षात पहिले नै जोखिम पूर्ण भवन हटाउने बताए। एक स्थानीय भन्छन् ‘स्कुल छेउँबाट करोडौको खर्चमा बाटो खन्छन् तर भत्किएको विद्यालय बनाउदैनन्।’

बढ्दै विद्यालय छोड्ने दर
यो शैक्षिक शत्रमा मात्रै यहि विद्यालयबाट करिब ४ दर्जन बालबालिकाले विद्यालय छोडिसकेका छन्। बालबिवाहका कारण पढाई छोड्नेका दर उच्च रहे पनि चरम गरिबिका कारण मजदुरी गर्न जानेहरुले पनि बिचमै विद्यालय छोड्ने गर्दछन्। विद्यालयका प्रअ उमेश पुनका अनुसार भर्ना भएका ३०÷४० जनाले विद्यालय छोडिसकेका छन्। प्रअ भन्छन् ‘हाम्रो सेवा क्षेत्र भित्रका करिब ५० जना जति त भर्ना नै भएनन्। बालबिबाह अनि गरीवीले विद्यालय भर्ना नहुने र बिचमै पढाई छोड्नेको संख्या बढिरहेको हो।’

यहाँ मात्रै नभएर साविकको पाङ गाविसमा रहेका विद्यालय जाने उमेर समूहका सयौ विद्यार्थीहरु आज पनि विद्यालय बाहिर छन्। स्थानीय सरकारले विद्यार्थीलाई स्कुलसम्म पु¥याउने खालको कुनै कार्यक्रम पनि ल्याएको छैन। त्यो त स्थानीय सरकारसंग शैक्षिक सुधारको कुनै योजन पनि छैन। विकास भनेको सडक हो भन्ने बुझेका कारण सरकारले शैक्षिक सुधारमा लगानि समेत गर्ने गरेको पाइदैन।

राज्यले देशभरका सबै विद्यालयमा सेनेटरी प्याड राख्ने भनिए पनि यहाँ उक्त सुविधा समेत आएको छैन। ‘गाउँपालिकाले खर्चिलो हुने भन्दै सहयोग नगरेको बताएको छ।’ प्रअ उमेश पुन् भन्छन् ‘विद्यालयसंग आर्थिक अवस्था कमजोर छ। स्थानीय सरकारले बजेट नदिएका कारण दिवा खाजा पनि सुरु गरिएको छैन।’

प्रकाशित: २९ पुस २०७६ ०७:२८ मंगलबार

विद्यार्थी जीर्ण_भवन जोखिम