समाज

तीन बुँदेमा ध्यान नदिँदा १३ बुँदे माग सम्बोधन गर्न बाध्य

जलविद्युत आयोजनाका दानबहादुर बुढालाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर/हिमनाथ

रसुवा- रसुवाको उत्तरगया गाउँपालिका वडा न १ मा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई एक साताभित्र १३ वटा माग सम्बोधन गर्न दबाब परेको छ।

यसअघि स्थानीयले राखेका तीन बुँदे मागलाई ध्यान नदिएपछि माथिल्लो मैलुङ खोला जलविद्युत सरोकार समितिले सोमबार १३ बुँदे माग सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। एक साताभित्र माग सम्बोधन नगरे आयोजनाको काम अनिश्चित रूपमा बन्द गरिने समितिका संयोजक पूर्ण घलेले बताए।

समितिले मुआब्जा पाउनुपर्ने, निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने, स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने लगायतका माग राखेको छ। अति प्रभावित घरजग्गा अधिकरण गरेका जनतालाई प्रति व्यक्ति एक हजार कित्ता सेयर निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

रोजगारी, क्षमता र दक्षताको आधारमा उत्तरगया गाउँपालिका–१ का जनतालाई पहिलो प्राथमिकतामा राखी दोस्रो गाउँपालिका र तेस्रो रसुवा जिल्लालाई प्राथमिकता दिनुपर्ने माग राखेको प्रभावितले दक्ष जनशक्ति हुँदाहुँदैै बाहिरबाट ल्याइएका कर्मचारीलाई तत्काल हटाउन आग्रह गरेका छन्।

आयोजना निर्माण गर्दा क्षति पुगेको स्थानीय जनताको घरजग्गा र अन्य संरचनाको पुनर्निर्माण गर्नुपर्ने, आयोजनाको प्रयोजनका लागि खनिएको सडकमा जग्गा परेका स्थानीयलाई तत्काल मुआब्जा वितरण गर्नुपर्ने, निर्माण सम्बन्धी काम काम दिँदा एक पक्षीय ढंगले गरेकाले त्यो कार्य तत्काल रोकी सबैको सहभागितामा स्वीकृत गरेपछि कार्य अघि बढाउनुपर्ने माग छ।

त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेकोे छ। आयोजनाले दिएको जानकारी अनुसार १ हजार ८ सय  ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ। १ हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ।

सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइए पनि हालसम्म संरचना निर्माणको काम अघि बढ्न सकेको छैन। १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत उत्पादन सुरु गर्नेछ। उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको थ्रिवि हवमा जोडिनेछ।

त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्छ। निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलोवाट घन्टा विद्युत उत्पादन गर्नेछ। २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ। सानिमा हाइड्रो समूहको मुख्य लगानीमा आयोजना निर्माण हुन लागेको हो।

यो आयोजना निर्माणका लागि करिब २ अर्ब ५० करोड रुपैयाँको लागत लाग्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो। मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो। यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो।

२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो। तोकिएको समयमा निर्माण कार्य सुरु नभएपछि सानिमाले निर्माण गर्न लागेको हो। आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंकले ऋण लगानी गरेको छ।

 

प्रकाशित: २८ पुस २०७६ ११:४७ सोमबार

मैलुङ_जलविद्युत_आयोजना माग_सम्बोधन