समाज

वन मुद्दाका दुई फरार अभियुक्त पक्राउ

उदयपुर- अदालतबाट दोषी करार भएर फरार रहेका उदयपुरका दुई अभिुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वन मुद्दामा अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका त्रियुगा नगरपालिका-३ का २८ वर्षीय अनिल चौधरी र सोही ठाउँका ५१ वर्षीय दुखीलाल चौधरीलाई आइतबार राति पक्राउ गरेकाे हाे।

अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनीहरुलाई घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो। अनिललाई अदालतले ६ महिना कैद र २३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ भने दुखीलाललाई ५ महिना ६ दिन कैद सजाय तोकेको प्रहरीले जनाएको छ।

विभिन्न मुद्दाका अभियुक्तहरु फरार सूचीमा रहेकाहरुको प्रहरीले खोजी गरि पक्राउ गर्दै आएको छ। सोही क्रममा चौधरीद्वयलाई पनि पक्राउ गरी अदालतको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए।

उनका अनुसार अदालतको फैसला कार्यान्वयन गराउन प्रहरी प्रधान कार्यालयको निर्देशन र अदालतको आग्रह अनुसार फरार सूचीका अभियुक्तहरुको खोजी गरी पक्राउ गर्ने क्रम भइरहेको छ। चालु आर्थिक वर्ष मात्र बिभिन्न अपराधमा अदालतबाट सजायको फैसला अनुसार दोषी करार भए पनि फरार रहेका दुई दर्जन बढीलाई पक्राउ गरी अदालतमा बुझाइएको डिएसपी केसीले बताएका छन्।

 

प्रकाशित: २८ पुस २०७६ १०:५५ सोमबार

फरार अभियुक्त