समाज

ठगी आरोपमा पक्राउ बाल सञ्जालका पूर्व केन्द्रीय अध्यक्षलाई म्याद थप

उदयपुर- तिन दिनअघि पक्राउ परेका उदयपुरका युवा सञ्जाल अध्यक्ष सुरेश गुप्तालाई अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ। बाल सञ्जालका केन्द्रीय अध्यक्षसमेत रहिसकेका त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका गुप्तालाई लागू औषध कारोबार आरोपमा पक्राउ एक युवकलाई छुटाईदिने भन्दै अभिभावकबाट रकम लिएको आरोपमा पक्राउ गरिएको हो।

गत शुक्रबार पक्राउ ३५ वर्षीय गुप्ता र उनकै सञ्जालका सचिव त्रियुगा ८ का २४ वर्षीय रुपेश दनुवारमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीका अनुसार लागू औषधसहित गत मंसिर १९ गते पक्राउ त्रियुगा नगरपालिका ७ चुहाडेका २१ वर्षीय अन्टु शेर्पालाई छुटाईदिने भन्दै उनले पैसा लिएको प्रहरी भनाइ छ।

एक लाख रुपैंयाँ दिएमा छोरालाई छुटाईदिने भन्दै परिवारसँग बार्गेनिङ गरेपछि १० हजार रूपैयाँ पेश्की लिएको आरोप गुप्ता र दनुवारमाथि छ। प्रहरीका अनुसार एसपी र सिडिओसँग राम्रो सम्बन्ध रहेको भन्दै पैसा दिए छुटाईदिने आश्वासन दिएपछि शेर्पाकी आमा ल्हमुले गुप्तालाई पेश्कीस्वरुप १० हजार रूपैयाँ दिएकी थिइन्। तर, पेश्की लगे पनि २५ दिनसम्म छोरालाई थुनामै राखेर ५० हजार रूपैयाँ धरौटी लिएर छाडेपछि ल्हमुले गुप्तालाई रकम फिर्ता मागिन्। तर, १० हजार रूपैयाँमध्ये एसपीलाई ५ हजार र सिडिओलाई ५ हजार रूपैयाँ दिइसकेको भन्दै गुप्ताले फिर्ता नगर्ने अडान लिएपछि ल्हमुले प्रहरीमा उजुरी दिए अनुसार गुप्ता र दनुवार पक्राउ परेको डिएसपी केसीले बताए।

‘एसपी र सिडिओसँग राम्रो सम्बन्ध छ, पैसा दिए तिम्रो छोरा छुटाईदिन्छु भन्दै १ लाख मागे’ ल्हमुलाई उद्धृत गर्दै डिएसपी केसीले भने ‘छोरा छुट्छ भने दिन्छु भन्दै १० हजार रूपैयाँ पेश्की दिएँ। तर, छुट्नुको साटो २५ दिन थुनामा परेर ५० हजार रूपैयाँ धरौटी लिएपछि पैसा फिर्ता माग्दा सिडिओ र एसपीलाई दिइसकेको भन्यो।’ सिडिओ र एसपीले नै पैसा खाएको भनेकाले प्रहरीलाई भन्न आएको ल्हमुले बताएको प्रहरी भनाइ छ।

३५ वर्षीय गुप्ता लामो समयदेखि बाल अधिकारकर्मी हुन्। विद्यालयस्तरदेखि नै बाल क्लबको अध्यक्ष हुँदै बाल अधिकार अभियानमा क्रियासिल रहँदै आएका गुप्ता स्कुल जीवनपछि नगर बाल सञ्जाल अध्यक्ष, जिल्ला अध्यक्ष हुँदै ३ वर्षअघि केन्द्रीय बाल सञ्जालको अध्यक्ष भएका थिए। ६ महिनाअघि मात्र कार्यकाल पूरा भएपछि उनी त्रियुगा नगर युवा सञ्जालको अध्यक्ष चुनिएका थिए। नगर युवा सञ्जाल अध्यक्ष चुनिँदा नगरपालिकाका युवाहरुलाई थाहै नदिई भेला गरेर उनलाई अध्यक्ष छानेको भन्दै विरोधका स्वर सुनिएको थियो।

गुप्तासँगै पक्राउ सञ्जालका सचिव त्रिनपा ८ राजाबासका २४ वर्षीय दनुवारसहित दुवैलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरुले थप अपराधसमेत गरेको तथ्यहरु फेला परिरहेको डिएसपी केसीले बताएका छन्। ‘समाज सेवाको आवरणमा मान्छेहरु कस्ता-कस्ता आपराधिक क्रियाकलाप गर्छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो’ केसीले भने ‘यति मात्र हो कि अरु अपराध पनि गरेका छन्, हामी अनुसन्धानमै छौं।’

प्रकाशित: २७ पुस २०७६ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App