समाज

छात्र-छात्राले गरे विज्ञान प्रदर्शनी

दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र-छात्राले आयोजना गरेको विज्ञान प्रदर्शनीमा सहभागी । तस्बिर:नागरिक

खोटाङ– खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र-छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन्। वार्षिक कार्यक्रम अन्तरगत बोर्डिङ स्कुलका कक्षा ४ देखि कक्षा १० मा अध्ययनरत छात्र-छात्राको शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरिएको हो।

विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको दिक्तेल इंलिस बोर्डिङ स्कुलका विज्ञान शिक्षक निरजकुमार चौधरीले बताए।

दिक्तेल बोडिङ स्कुलमा गठित विज्ञान क्लबको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा सहभागी छात्र÷छात्राले न्यूटनको तेश्रो नियम, पास्कलको नियम, आर्किमिडिजको सिद्धान्त अनुसार ग्याँस, एस्काभेटर, रोलर, ज्वालामुखी लगाउतका विज्ञान सम्बन्धि नमूना तयार पारेर शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका छन्।

कक्षा ४ का विद्यार्थीले ज्वालामुखी सम्बन्धि, कक्षा ५ का विद्यार्थीले बायोग्याँस, भेण्डिङ मेसिन, चक्लेट उत्पादन गर्ने उपकरण, हाईड्रोजन ग्याँसको चापको मद्धतबाट बम विष्फोट, कक्षा ७ का विद्यार्थीले अक्सिजन ग्याँस, कक्षा ८ का विद्यार्थीले ज्वालामुखी सम्बन्धि, कक्षा ९ का विद्यार्थीले वन फँडानीको बेफाईदा र कक्षा १० का विद्यार्थीले मुटु र यसको कार्यका विषयमा प्रयोगात्मक अभ्यास देखाएर व्याख्या गरेका थिए।

छात्र÷छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामाग्री प्रदर्शनीमा राखेका थिए। ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ शिक्षक चौधरीले भने, ‘विज्ञान विषयप्रति विद्यार्थीको सिकाई मापन गर्दै नयाँ खोज अनुसन्धानमा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ।’

 

प्रकाशित: २७ पुस २०७६ ०७:०३ आइतबार

छात्र-छात्रा विज्ञान