समाज

१२२ प्रतिवादी पक्राउ

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १४४ जना प्रतिवादीमध्ये १३२ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार आव २०७५/७६ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइमा गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ प्रतिवादी फरार रहेका, एक जनालाई बाल सुधारगृह पठाइएको, ३९ लाई कारागार चलान गरिएको, ७८ धरौटीमा छुटेका र १४ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

जिल्ला प्रहरी कार्यालयले चालू आवभित्र १ सय ३० वटा मुद्दा दर्ता भएकामा ७५ वटा मुद्दा फस्र्योट गरेको जनाएको छ। दर्ता भएकामध्ये ५० वटा मुद्दा फस्र्योट गर्न बाँकी रहेको डिएसपी गौतमले बताए। चालू अवस्थामा ५ वटा मुद्दामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्दा ४४ वटा र प्रतिवादी फरार भएका मुद्दा ४ वटा रहेको जानकारी दिइएको छ।

चालू आवमा अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा एक सय जरिवाना र २० वर्ष ४ महिना कैद भुक्तान भएको डिएसपी गौतमले बताए। यस अवधिमा १ सय ८६ वटा ठाडो निवेदन परेकामा १ सय ६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्दाको काम बाँकी रहेको जानकारी दिइएको छ।

प्रहरीका ६ युनिट विस्तार
चालू आवभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरीचौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरवृद्धि एवं स्थानान्तरण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरीचौकी खार्पा, प्रहरीचौकी हरमटार, प्रहरीचौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र विमान सुरक्षागार्ड थामखर्कको स्थापना एवं स्तरवृद्धि गरिएको डिएसपी गौतमले जानकारी दिए।

३१ जना बेपत्ता
यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन्। ४२ महिला, ८ पुरुष, १२ बालिका र ३ बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ। हराएकामध्ये २१ महिला, ३ पुरुष, ८ बालिका र २ बालक फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता भएकामध्ये अधिकांश दोस्रो विवाह गरेर जाने महिला रहेको डिएसपी गौतमले बताए। ‘सम्पर्कविहीन भएपछि हरायो भनेर प्रहरीलाई खबर गर्छन्, तर भेटियो भनेर जानकारी दिँदैनन्,’ डिएसपी गौतमले भने, ‘अंशमा दाबी नगरोस् भनेर दोस्रो विवाह गर्ने महिलाविरुद्ध बढी यस्ता बेपत्ताको उजुरी परेको पाइएको छ।’

प्रकाशित: २७ पुस २०७६ ०३:०७ आइतबार

प्रतिवादी पक्राउ