समाज

गाउँगाउँमा सेनाको उद्धार अभ्यास सुरु

तिला गाउँपालिकामा उद्धार अभ्यासपछि स्थानीयसँग फोटो खिचाउँदै सेना। तस्बिरःनागरिक

जुम्ला- जुम्लामा नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको छ। यहाँका हरेक स्थानीय तहसँग समन्वय गरेर नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको हो। बाढीपहिरो जाँदा, नदीमा भेलबाडी आउँदा र सवारी दुर्घटना हुँदा गर्नुपर्ने उद्धार कार्य सम्बन्धि अभ्यास सुरु गरेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डा जुम्लाले जानकारी दिएको छ। स्थानीयबासिन्दाको प्रत्यक्ष सहभागितामा भइरहेको यो अभ्यासले स्थानीयलाई समेत सचेत बनाएको छ।

विपद कसैलाई सोधेर आउँदैन, जतिबेला, जुनसुकै अवस्थामा पनि विपद आइलाग्न सक्छ, नेपाली सेनाका २४ नम्बर बाहिनीपति दिपक बानियाँ भन्छन्,‘यो अभ्यास अहिलेको टड्कारो आवश्यकता हो। सबैले उद्धार अभ्यास सिक्नुपर्ने बेला पनि हो। त्यसैले जुम्लाका गाउँबस्तीमा सेना उद्धार अभ्यासमा परिचालित छ।’

अहिले पनि जनता र सेनाबीचको दुरी निकै टाढा छ। तर यो अभ्यासले निकै सुमधुर बनाउँदै लगेको आभाष स्थानीयले गर्दै आइराखेका छन्। गाउँमा भेला गराएर विपद बारेको क्षमता अभिवृद्धि गराउँछ। विपद जोखिम र उद्धारका बारेमा जानकारी दिँदै आएको छ।

तिला गाउँपालिका वडा नम्बर १ मा रहेको तिला नदीमा आपत पारेको समयमा खोला कसरी तर्ने र बगिरहेको मान्छेलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भएको थियो। साथै यहाँका भिरपाखामा समेत उद्धार अभ्यास गरिएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उद्धार अभ्यासमा सयौँको संख्यामा स्थानीय सहभागी थिए। पुल भाँचिदा नदीमा खसेको घाइतेलाई डोरी तथा आवश्यक रेस्क्यू सामाग्रीहरुको सहायतामा कसरी उद्धार गर्ने र पहिरोको समस्यामा परेका र भीरमा अड्किएको मानिसलाई कसरी सुरक्षित उद्धार गर्ने भन्ने बारेमा प्रत्यक्षरुपमा अभ्यास गरिएको थियो।

उद्धार अभ्यास गराउन २४ नम्बर बाहिनी जुम्लाका बाहिनीपति बाँनियासहितको उच्चस्तरको नेपाली सेनाको टोली गाउँमै पुगेको थियो। स्थानीय तहले पनि यो अभ्यास निकै प्रभावकारी र अहिलेको अवस्था सुहाँउदो भएको भन्दै खुसी व्यक्त गरेको थियो। तिला गाउँपालिका नजिकै पर्ने कर्णाली राजमार्ग क्षेत्रदेखि घोडेमहादेव तिर जाने बाटोको तिला नदीकोमाथि १५० मिटर लम्वाई र ५० मिटर गहिराईको दुरीमा डोरीको सहायताले आफ्नो सामान बोकेर सजिलै वारपार गर्ने र घाइतेलाई उद्धार गर्ने सेनाको अभ्यासले स्थानीय चकित भए। उनीहरुले अब जनता स्तरमा पनि पटकपटक यो अभ्यास भइराख्नुपर्नेमा जोड दिएका थिए।

कुनै कारणले पुल भाँचिएमा वारपार गर्ने साधन नभएमा कुनै पनि ठाँउमा डोरी बाँधेर उद्धार सजिलै गर्न सकिने अभ्यास भइरहेको बाहिनीपति बाँनियाले बताए। पहिरोमा परि कुनै कारणले भीर र पहरामा परेका व्यक्तिको कसरी डोरीको सहायताले कसरी सुरक्षित रुपमा ल्याउने भन्ने बिषयमा अभ्यास र सहजीकरण समेत भएको थियो।   

नेपाली सेनाले कर्णालीका जुम्लासहित हुम्ला, डोल्पा, मुगु र कालिकोटका सबै स्थानीय तहमा एक एकवटा तालिम सञ्चालन गर्ने जनाएको छ। नेपाल सरकार गृह मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र नेपाली सेनाको समन्वयमा यो अभ्यास सबै स्थानीयतहमा गर्ने समन्वय अनुसार  जुम्लामा शुरुवात गरिएको हो। नेपाली सेनाले यसअघि सिञ्जा गाउँपालिकामा यो अभ्यास सम्पन्न गरिसकेको थियो।
 

 

प्रकाशित: २६ पुस २०७६ १२:२० शनिबार

गाउँगाउँ सेना उद्धार अभ्यास