समाज

जनप्रशासन संघमा बाँस्कोटा

काठमाडौं – नेपाल जनप्रशासन संघ अध्यक्षमा पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा सम्पन्न उक्त संघको अधिवेशन सम्पन्न भएको थियो।

संघमा नेपालका वर्तमान तथा पूर्व मुख्यसचिव, सचिव, विभिन्न आयोगका प्रमुख आयुक्त र आयुक्तहरू तथा विश्वविद्यालयका प्राध्यापकहरू सदस्य रहेको जनप्रशासन संघआबद्ध सरोज खनालले बताए। संघको स्थापना २०४७ सालमा भएको उनको भनाइ छ। अध्यक्ष पदको शपथग्रहणलगतै नवनिर्वाचित अध्यक्ष बाँस्कोटाको नेपालको मुलुकी प्रशासनलाई समयसापेक्ष चुस्तदुरुस्त तुल्याउन संघले खबरदारी गर्ने बताए।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफू सुशासनको पक्षमा रहेको बताए। उनले सुशासनको पक्षमा काम गर्न संघलाई आग्रहसमेत गरे। संघको कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्वआयुक्तद्वय सूर्यनाथ उपाध्याय र भोजराज पोखरेल तथा पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले सुशासन र विकासको विषयमा आफ्ना धारणा राखे। संघकी उपाध्यक्ष यशोदा काफ्लेले पनि सुशासन र जवाफदेहिताका लागि संघ निरन्तर खबरदारीमा उत्रने बताइन्।

प्रकाशित: २६ पुस २०७६ ०२:११ शनिबार

जनप्रशासन_संघ