समाज

गाउँमा खानेपानी पुगेपछि खसी काटेर भोज

केराबारी डाँडामा राखिएको ट्यांकीमा जडित धारा खोलेर शुक्रबार बिहान खानेपानी सेवाको उद्घाटन गर्दै मेयर प्रसाईं, उपमेयर पौडेल लगायत। तस्बिर: टंक/नागरिक

सर्लाही - चुरे पहाडस्थित हरिवन नगरपालिका वडा नम्बर १ केराबारी टोल निवासी हेमकला राई शुक्रबार बिहान दंग थिइन्। घर छेउकै ट्यांकीमा जडान भएको धाराबाट भरेको पानीको गाग्रो काखी च्यापेर हिड्दै गर्दा उनको मुहारमा मुस्कान देखिन्थ्यो।

हेमकला मात्र हैन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारबाट झण्डै पाँच किलोमिटर उत्तर केराबारी टोलस्थित ६५ घरधुरीका ४ सयभन्दा बढी स्थानीयमा शुक्रबारबाट खुसी छाएको छ। वर्षौंदेखि झण्डै साँढे दुई कोस टाढा पूर्वी खोलामा रहेको कुवाबाट खानेपानी ओसार्न बाध्य स्थानीयले शुक्रबारबाट भने माथि केराबारी डाँडैमा आइपुगेको धाराबाट गाग्रो भर्न पाएका छन्।

हरिवन नगरपालिकाको २५ लाख रुपैंया तथा जनश्रमदान ४ लाख ५० हजार रुपैंयासहित २९ लाख ५० हजारको लागतमा फट्टी खोलास्थित बोरिङबाट ‘लिफ्टििङ’ गरेर केराबारीमा पानी पु¥याइएको हो। शुक्रबार बिहान हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले केराबारीस्थित ट्यांकीमा जडान गरिएको धारा खोलेर खानेपानी सेवाको उद्घाटन गरे। खानेपानी पुगेर हर्षित बनेका स्थानीयले मेयर प्रसाईं नेतृत्वको टोलीलाई फूलमाला र अबिरसहित भव्य स्वागत समेत गरे।

खानेपानी पुगेको उपलक्ष्यमा स्थानीयले खसी नै काटेर भोज गरेका छन्। स्थानीयले मेयर प्रसाईं नेतृत्वमा गएको टोलीलाई भोज खुवाए। खाने क्रममा मेयर प्रसाईंले झोल माग्दा एक महिलाले प्वाक्कै भनि हालिन्, ‘ए झोल जाबो त अब जति खाए पनि छ, पहिला पहिला पो निकै टाढाबाट दुःख साथ ओसारेको पानी हुनाले प्रायः तरकारीमा झोल हाल्नै लोभ लाग्थ्यो, अब त तरकारी पकाउँदा निर्धक्कसँग झोल हाल्न पाउने भएका छौं।’ ती महिलाले त्यसो भन्ने वितिकै सबैजना खित्का छाडेर हाँसे। अनि विकटताले झोल खान नपाएको तीतो यथार्थ झल्किएको शब्दवाणले केही समय सन्नाटा समेत छायो।

मेयर प्रसाईंले झोल माग्दा एक महिलाले भनिन्र, ‘ए झोल त अब जति खाए पनि भाे, पहिला पो निकै टाढाबाट ओसारेको पानी हुनाले प्रायः तरकारीमा झोल हाल्नै लोभ लाग्थ्यो, अब त निर्धक्कसँग झोल हाल्न पाउने भएका छौं।’

कार्यक्रममा बोल्दै मेयर प्रसाईंले नगरपालिका कार्यालय विकट ठाउँमा सेवा सुविधा दिन लागि परिरहेको बताए। ‘विकट ठाउँ केराबारीमा खानेपानीको सुविधा आएको छ अब केही माथिको बनमारा टोलमा पनि पानी पु¥याउछौं’, मेयर प्रसाईंले भने, ‘बाटोको स्तरोन्नतीका साथै स्थानीय विद्यालयमै गुणस्तरीय शिक्षाका लागि समेत प्रयासरत छौं।’ कार्यक्रममा उपमेयर पौडेल, वडा अध्यक्ष क्याप्छाकी मगर, नेता चूडामणि वाग्ले लगायतले मन्तव्य राखेका थिए। प्रज्वल ढुंगानाको सञ्चालन रहेको उद्घाटन समारोहमा शान्तिमाया राईले स्वागत गरेकी थिइन्।

तल फट्टी खोलामा दुईवटा वोरिङ गाडेर ६० हजार लिटरको पक्की ट्यांकीमा जम्मा गरिएको पानी पुनः मोटरबाट डेढ किलोमिटर माथि अर्को ५ हजार लिटरको ट्यांकीमा चढाईएको छ। उक्त ट्यांकीबाट पुनः झण्डै डेढ किलोमिटर माथि डाँडामा राखिएको अर्को ५ हजार लिटरको ट्यांकीमा चढाइएको पानी धारा खोलेर स्थानीयले खान थालेका छन्। ठूलो मोटर भएको ठाउँमा थ्रि फेजको विद्युत नभएकाले तत्काल जेनेरेटरमार्फत चलाएर पानी तान्ने र ‘थ्रि फेज’ लाइन आएपछि थप सहज हुने मेयर प्रसाईंले जानकारी दिए। माथिको दुईवटा मोटर भने ‘टू फेज’ लाईनबाटै चल्ने उपभोक्ता समितिले जनाएको छ।

प्रकाशित: २५ पुस २०७६ १०:५५ शुक्रबार

खानेपानी खसी