समाज

घरभित्रै ‘छाउगोठ’

जुम्ला - जुम्लामा 'छाउगोठ' भनेर अलग्गै निर्माण भएका संरचना छैनन्। तर मानिसका मनमा भएका छाउगोठ भने भत्किएका छैनन्। 'छाउ' भएको समयमा घर भित्रको गोठमै बस्ने गरेको भेटिएको छ। छाउ हुने वित्तिकै घरको तल्लो तला गाइवस्तु राख्न बनाइएको गोठलाई नै छाउगोठका रुपमा उपयोग गरेको देखिएको छ।

परम्परादेखि नै यहाँका महिला अलग्गै छाउगोठ बनाएर बसेनन्। उनीहरुका लाग घरको तल्लो तलामा छाउगोठ बनेको हुन्छ। जहाँ गाइबस्तु राखिन्छ। गाइवस्तुले दिसापिसाव गरेको फोहोर ठाउँमा राख्दा विभिन्न रोगको संक्रमणले च्याप्ने खतरा निकै बढि हुने गरेको स्थानीय महिलाहरु बताउँछन्। यहाँ तर महिलालाई छाउ भएको वेला पशुवत व्यवहार नै गरिन्छ,। स्थानीय हरीकला नेपाली भन्छिन्,‘ छाउ भएको बेला घर भित्र छिर्न नपाउँनु निकै दुखद पक्ष हो। यो जस्तो अमानवीय व्यवहार अरु हुन सक्दैन्।’ गोठमा बस्दा स्वास्थ्य अवस्था विग्रने गरेको छ। किरा फट्यांग्राले टोक्ने, मानिसबाटै असुरक्षित हुनु गरेको उनी बताउँछिन्।  अब छाउगोठबाट मुक्ति ल्याउन सबै लाग्नु पर्नेमा जोड दिन्छन्।

साविक कर्णालीका कालिकोट बाहेकका अन्य जिल्लामा छाउगोठ अलग्गै बनाएको पाइदैन्। घरभित्रको तल्लो तलालाइ नै छाउगोठका रुपमा प्रयोग गर्ने चलन छ।  घरको तल्लो तला गाई हुल्नको लागि गोठ बनाइन्छ। त्यहि छाउ हुँुदा महिलालाई बसालिन्छ। छाउ भएका महिला धार्मिक तथा साँस्कृतिक पर्वमा भने खुलाआकाशमा रात बिताउँछन्। त्यो समयमा घरको जग छुन हुदैन् भन्ने अन्धविश्वास कायमै छ। छाउ भएको बेला वस्ने सामुहिक घरको प्रवन्ध समेत छैन्।  गोठमा आगो बालेर बस्छन्। निकै पुरानो, च्यातिएको, फाटो कपडा दिएर पठाउँछन्। नयाँ कपडाको प्रयोग गर्न दिदैनन्।  पहिलो तलामा गाइवस्तु बस्छन्। त्यो भित्र छाउगोठ पनि हुन्छ। दोस्रो तलामा घरका परिवार बस्छन्। छतमा बनाइएको कोठामा अन्नपात राखिन्छ।

प्रहरी प्रशासन लगाएर बाहिर देखिने छाउगोठ भत्काइए पनि मनमा गढेको अन्धविश्वास भने हटाउन सकिएको छैन।

तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा छाउगोठ खोजिरहनु पर्ने अवस्था नरहेको बताउँछिन्। यहाँ निर्माण भएका हरेक घर भित्र छाउगोठ छन्। घर निर्माण गर्नु पुर्व नै छाउगोठको डिजाइन बन्छ। कर्णालीमा छाउ भएको समयमा महिला अलग्गै छाउगोठमा बस्दैनन्, उनले भनिन्,‘घरभित्रको छाउगोठ भित्र बस्छन्। गाइवस्तु संगै बस्न बाध्य हुन्छन्। जहाँ विभिन्न किटाणुहरुले संक्रमण सर्ने खतारा हुन्छ। ’ उनले अब नयाँ घर बनाउनले छाउगोठ राख्न नपाउने प्राव्धान स्थापित गर्नु पर्ने बताइन्।

पहिले तीन दिनसम्म गोठमा बस्थे। चार दिन आटालोमा बस्थे। सात दिन पुगेपछि खाना पकाउन थाल्थे। अहिले तीन गोठमा दिन बसेर चार दिनमै घरमा आउने र खाना पकाउने चलन छ। पहिले भन्दा छाउपडी मान्ने चलन निकै घटेको छ। तर पूर्ण रुपमा अन्त्य भइसकेको छैन्। जुम्लाको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लामा छाउपडी गोठका सन्दर्भमा गहिरो विश्लेषण गरेको बताउँछिन्। उनका अनुसार घर साँघुरो हुने भएकोले तल्लो तला गोठमा बसाल्न बाध्य भएको स्थानीयले बताइराखेका छन्। घरमा साघुँरो भएकोले तल्लो तलामा बाध्य भएर बस्ने गरेको  सुनियो, प्रमुख जिल्ला अधिकारी बञ्जाडे भन्छिन्,’‘ विस्तारै घर भित्रको सुरक्षित कोठामा राख्ने अभ्यास भइरहेको पनि देखियो। यो सकरात्मक पक्ष हो।’  जुम्लाको तिला, तातोपानी, कनकासुन्दरी, चन्दननाथ नगरपालिकाको भारतीबाडा र मालाभिड क्षेत्रमा अत्यधिक छाउपडी पैथा मान्ने गरेको भेटिएको छ।

पहिलो चरणमा छाउपडी अत्यधिक भएको स्थानीय तहमा जनप्रतिनिधिसंग समन्वय भइरहेको छ। उनीहरुलाई छाउपडी विरुद्धको अभियान थाल्न सुझाव पनि दिइएको छ। उनीहरुले स्थानीय प्रशासनले थालेको महाअभियानमा सहभागि भएर छाउपडी उन्मुलनको यात्रा सफल बनाउने प्रतिबद्धता पनि जाहेर गरेका छन्।   धामी झाक्री, पुरोहित, सामाजिक अभियान्तालाई पनि सुरक्षा संयन्त्र मार्फत परिचालन गरिएको छ। स्थानीय तह सकरात्मक छन्। अब एकै घरको तलामा राखिएको छाउगोठ घट्दै जाने विश्वास गरिएको छ।

छाउपडी उन्मुलनका लागि शुरु भएको महाअभियानले स्थानीय महिलामा निकै खुसिको तरंग ल्याइरहेको छ। प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थपिन्,‘ आफुले भोगेको दुख सम्झदै छिपिएका महिला प्रशासनप्रति निकै खुसी पोख्छिन्। छाउपडीका नाममा हुने विकृति अन्त्यमा सहभागी हुने अठोट समेत गर्छिन्।’  अहिलेका छोरी नातिनी भाग्यमानी भएको बताउँदै उनीहरु छाउपडी नहटेसम्म कर्णालीका महिलाको दुख पिरमर्का नहट्ने बताउँदै आएकी छिन्।  अहिले जिल्ला प्रशासन कार्यालय जुम्लामा आउने सेवाग्राहीदेखि सरोकारवाला सबैले छाउपडी मान्दैनौँ, हटाउँछौँ भनेर सहिछाप लगाउँछन्।

जिल्ला प्रहरी कार्यालयका हरेक युनिटमा फाइल खडा गरेर ‘छाउ मान्दैनौँ, मान्नेलाई कानुनको कठघरामा ल्याउछौँ’ भनेर स्थानीय नै लर्को लाग्ने गरेका छन्। छाउपडी गोठभन्दा पनि मनको छाउगोठ भत्काउने कार्यले प्राथमिकता पाइरहेको छ।  यहाँका धामी झाक्री पनि जनचेतना अभावका कारण गलत भइरहेको स्वीकारीरहेका छन्। उनीहरु अब कुनै पनि गल्ती नदोहो¥याउने बाचासहित छाउपडी नष्ट गर्ने अभियानमा सहभागी छन्। छाउपडी बिरुद्धका क्रियाकलाप हेर्दा जुम्लामा छिट्टै छाउपडी प्रथा उन्मुलन हुने विश्वास स्थानीय प्रशासनको छ। राज्यका संयन्त्र  कानुन कार्यन्वयनमा लागिसकेका छन्। जनप्रतिनिधि उत्साही छन्। पत्रकार संचारकर्मी, सामाजिक अभियान्ता, पुरोहित धामी झाँक्री सबैको एक्केवद्धता छ।

किशोरीदेखि हरेक नागरिक महाअभियानमा लामबद्ध देखिन्छन्।  तर एनजिओका कार्यक्रम पनि प्रभावकारी नभएको स्थानीय बताउँछन्। छाउपडी प्रोत्साहन गर्ने सामाजिक संघ संस्था, व्यक्ति सबैलाई कानुनी कठघरामा ल्याउने प्रमुख जिल्ला अधिकारी बञ्जाडे बताउँछिन्। उनले जिल्लाका पाँच वटा सुरक्षा युनिटमा पुगेर छाउपडीको अवस्थाको बारेमा  बुझिसकेकोले अब छाउपडी अन्त्यको सहजबाटो अबलम्वन गर्ने दाउँमा रहेको बताउँछिन्। 

कर्णालीको कालिकोट, हुम्ला, मुगु र डोल्पामा पनि छाउपडी अन्त्यका लागि अभियानात्मक रुपमा सचेतनाका क्रियाकलाप भइरहेका छन्। त्यहाँ पनि छुट्टै छाउगोठ छैनन्। एउटै घरमा गाइको गोठसंगै महिला बस्न बाध्य छिन्। कालिकोटको रहरिनाथ गाउँपालिकामा १७ र पलाँता गाउँपालिकामा एउटा छाउगोठ भेटिएपछि भत्काइएको छ।  एक साताअघि प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले छाउ प्रथाविरुद्ध जिल्लाभर अभियान चलाउने निर्णय गरेको थियो।

  त्यो अभियान अहिले उत्कर्षमा पुगिरहेको छ। प्रहरीका अनुसार कालीकोटमा करिब ७० प्रतिशत महिला छाउ प्रथाको भुक्तभोगी  छन्। तर छाउगोठको संख्या भने निकै न्यून छ । ‘छाउपडी प्रथा व्यापक छ, तर महिलाहरू छुट्टै गोठमा नभई घरको तल्लो तलामा गाईभैंसी बाँध्ने गोठमा सुत्ने गरेको भेटिएको छ, प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने, ‘यसले गर्दा यो प्रथा हटाउन थप चुनौती देखिएको छ । तर कानुनको कठघरामा छाउपडी मान्नेले आउनैपर्छ। राज्यले कुरीतिका रुपमा लिइएको छाउपडी प्रथा उन्मुन गर्न कुनै कसुर बाँकी हुनेछैन्।’

कर्णालीमा पुरानो पुस्ताले छाउपडी प्रथालाइ निरन्तरता दिएकोमा पछिल्लो पुस्ताले छाउ प्रथा छोड्न थालेका छन्। उनीहरु छाउ भएको बेला प्याड प्रयोग गर्ने, सरसफाइका क्रियाकलाप अघि बढाउनेदेखि अभिभावकलाई सचेत पार्नेसम्मका कार्य गर्दै आइराखेका छन्।  नरहरिनाथ, खाँडाचक्र, रास्कोट र पलाँतामा छाउपडी सर्वेक्षण गरिउको थियो।  घरमा धामीझाँक्री र पण्डित हुने घरका किशोरीले छुट्टै बस्न बाध्य हुनुपरे पनि सामान्य परिवारका किशोरीले पहिलेजस्तो सात दिन बार्ने चलन हटाएका देखिएको छ । अब धामी झाँक्रीको छाउपडी चेतना भत्काउनमा केन्द्रित कार्यक्रम तर्जुमा भइरहेका छन्।

गृहमन्त्रालयले छाउगोठ भत्काउन निर्देशन गरेअनुसार जुम्लामा सहजै रुपमा छाउगोठ भत्काउन सकिने अवस्था छैन्। तर छाउ भएको समयमा गोठबाट घरसम्म पु-याउने खाले जनचेतनामुलक कार्यक्रमको औधी खाँचो छ। अब यहाँ छाउपडी गोठ भत्काउनेभन्दा पनि छाउ भएको समयमा महिलालाई गाइगोठदेखि घरसम्म ल्याउने कार्यक्रम आवश्यक छ।

प्रकाशित: २५ पुस २०७६ ०७:५३ शुक्रबार

छाउगोठ महिनावारी