समाज

जुवाखालबाट १४ पक्राउ

मध्यपुरथिमि- मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ।

हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट सात लाख तीन हजार १ सय ९० रूपैयाँ तथा सात हजार ६ सय ६० भारतीय रुपैयाँ गरी कूल सात लाख १५ हजार ४ सय ४६ रूपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिए।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान सुरू गरेको पनि उनले जानकारी दिए।

प्रकाशित: २२ पुस २०७६ ०९:२१ मंगलबार

जुवाखाल पक्राउ