समाज

'महिला अधिकारकर्मी नै असुरक्षित'

धादिङ – आइतीमाया तामाङ, खनीयाबास गाउँपालिकाका स्तरीय महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष हुन्। उनी महिलाको न्यायका लागि लड्दै आएकी छिन्। महिलाको न्यायका लागि आवाज उठाउँदा नबुझ्ने मान्छेभन्दा बुझ्ने मान्छेले नै नकारात्मक धारणा राख्ने गरेको अनुभव उनको छ। ‘समाजमा महिला अधिकार स्थापना गर्न महिला मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि पैरवी गर्ने, हिंसामा परेकालाई न्यायिक प्रक्रियामा अगाडी बढ्न सहयोग गर्दै आइरहेकी छु,’ उनले भनिन्, ‘यसरी न्यायको पक्षमा आवाज उठाउँदा उल्टै समस्या, चुनौती र धम्की आउने गरेका छन्। यसलाई पनि सामान्य रूपमा लिने गर्दछु।’

महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालले सदरमुकाम धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा तामाङले मात्र होइन अन्य सहभागीले आ–आफ्नो चुनौती र समस्या तामाङले जस्तै राखेका थिए। गल्छी गाउँपालिकाकी इन्दिरा भण्डारीले पनि उस्तै चुनौती भोग्दै महिलाको न्यायका लागि लड्दै आएको बताइन्। काम गर्दा पुरुषको धम्की र अहसयोग हुने गरेको उनको भनाइ छ।

महिलालाई हेर्ने दृष्टिकोण साधुँरो हुँदा महिला अधिकारकर्मी नै समस्यामा पर्ने गरेको उनीहरूको भनाइ छ। शान्ति र सामाजिक न्यायका साथै अधिकारका लागि आवाज उठाउने महिलाहरू विभिन्न नाममा दुव्र्यवहार, हिंसा, हत्या, बलात्कारमा पर्ने गरेको तामाङको भनाइ छ। यस्ता समस्या भएपनि आफूहरू नआत्तिएर अधिकारको लागि आवाज उठाउँदै आएको भण्डारीले बताइन्।

कार्यक्रममा महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाले आर्थिक वर्ष २०७५/०७६ मा एक सय १० वटा महिला हिंसाका घटनामा न्यायको लागि सहजीकरण गरेको बताइन्। महिला मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि पैरवी गर्ने र हिंसामा परेका महिलालाई न्याय दिने मानवअधिकारकर्मी नै असुुरक्षित हुने गरेको खतिवडाको भनाइ छ। ‘समाजमा महिला मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा काम गरिरहँदा अधिकारकर्मी नै सुरक्षा हुने चुनौती छ,’ उनले भनिन्, ‘महिला मानवअधिकार रक्षकलाई उल्टै सामाजबाट विभिन्न आरोप लगाउने, चरित्र हत्या हुने काम गरेको छ।’

जिल्लामा महिला मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपायका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष खतिवडाले मानव अधिकार रक्षकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताइन्। जिल्लामा परिवार र चिनेजानेकाबाटै महिला र बालिकाहरू बढी हिंसामा पर्ने गरेको सञ्जालको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २१ पुस २०७६ ०४:५१ सोमबार

महिला_अधिकारकर्मी असुरक्षित