समाज

पैसा नछुने राउटेमा बढ्दो द्रव्य मोह

वीरेन्द्रनगर – ‘पैसा छोए पाप लाग्छ भन्ने नेपाली समुदाय कुन हो ?’ लोकसेवा आयोगका लागि सोधिने सामान्य ज्ञानमा प्रायः यो प्रश्न हुने गर्छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले अवलम्बन गर्ने स्पष्ट तीन नीतिमध्ये एक हो– पैसा नछुने। त्यसैको आधारमा यो प्रश्न निर्माण गरिएको हुनुपर्छ। तर हिजोआज यो प्रश्न र यसको आधारमा निकै परिवर्तन भइसकेको छ। पछिल्लो समय राउटे समुदायका लागि पैसा अनिवार्यजस्तै बनेको छ। झन् राउटे मुखिया त हरेक वर्षजसो भत्ता (पैसा) बढाउन माग गर्दै राजधानी काठमाडौंसम्म पुग्छन्।

राउटेहरूको बदलिँदो जीवनशैलीबारे मलाई रिपोर्टिङ गर्नुथियो। त्यही सोच लिएर म केही पत्रकार साथीहरूसहित गत साता राउटेको बस्ती खोज्दै दैलेखको गुराँसे डाँडातिर गएको थिएँ। गुराँसे जंगलको करिब मध्यमा सडक छेउमै राउटेको बस्ती देखियो।

हामी गाडी रोकेर राउटे बस्तीतिर नियाल्दै थियौं। परबाट राउटे समुदायका केही बालबालिका हाम्रो गाडी नजिकै आए। उनीहरूसँगै उनीहरूका अभिभावक पनि गाडीनेरै झुम्मिए। त्यही भिडमा रहेका एकजना राउटे युवा हात जोड्दै ‘दाइ पैसा दिनु न,’ भन्न थाले। अर्काेले सुर्ती मागे। राउटे समुदायको बस्तीमा पहिलोपटक पुगेको मैले समाचारका लागि केही कुरा गर्न खोजें। तर उनीहरू पैसा नदिँदासम्म बोल्न मानेनन्। पैसा दिए बोल्ने नत्र नबोल्ने भन्दै हात पसारिरहे।

विशेषगरी दारको काठबाट निर्मित ठेकी, आरी आदि सामग्री खाद्यान्नसँग साट्ने र त्यसैबाट जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामग्री बिक्री हुन थालेपछि उनीहरूमा पैसाप्रतिको आशक्ति बिस्तारै बढेको हो। अहिले त उनीहरूका लागि पैसा अनिवार्यजस्तै बनेको छ। तर पैसा कमाउने अनेकन उपाय हुँदाहुँदै उनीहरू मगन्ते शैलीमा प्रस्तुत हुँदा पछिल्लो पुस्तामा काम गर्ने हौसला हराउने र उनीहरूमा माग्ने बानी विकसित हुने सम्भावना बढ्दो छ।

विशेषगरी दारको काठबाट निर्मित ठेकी, आरी आदि सामग्री खाद्यान्नसँग साट्ने र त्यसैबाट जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामग्री बिक्री हुन थालेपछि उनीहरूमा पैसाप्रतिको आशक्ति बिस्तारै बढेको हो।

सरकारी तथा गैरसरकारी निकायले दिने सहयोग र भत्ताको होडबाजीले पनि राउटे समुदायमा विकृति मौलाउँदै गएको छ। पछिल्लो समय राउटे समुदाय संस्कारभन्दा पनि विकृतितिर फस्दै जान थालेका छन्। विभिन्न संघसंस्थाले आफ्नो स्वार्थका लागि राउटे समुदायलाई बिगारेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काको आरोप छ। ‘अहिले राउटे समुदाय रक्सीले लठ्ठिएका छन्,’ उनले भनिन्, ‘पहिला पैसा नहुँदा उनीहरू यसरी खाँदैनथे, अहिले धेरै खान थालेका छन्।’ राउटेहरूले सरकारी र गैरसरकारी निकायले दिएको सहयोग सामग्री बिक्री गरेर रक्सी खाने गरेको बेलाबेलामा समाचारहरू पनि आइरहेका छन्।

पैसा माग्न अहिले उनीहरू सहरदेखि सरकारी तथा गैरसरकारी संस्थासमेत धाउने गरेका छन्। उनीहरूको पेसालाई व्यवस्थित गर्न सके र एकद्वार प्रणालीबाट राउटे समुदायमा सहयोग वितरण भए यस्तो अवस्था नआउने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। राउटे समुदायले बनाएका काठका सामग्रीका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले बजारीकरण गरिदिनुपर्ने उनको भनाइ छ। ‘उनीहरू आफैं आम्दानी गर्न थालेपछि माग्ने बानी हराउँछ,’ उनले भनिन्, ‘यसका लागि उनीहरू व्यावसायिक हुन जरुरी छ।’

यसबाहेक कोही आफ्नो समुदाय हेर्न, फोटो खिच्न र कुरा गर्न आए राउटेहरू पैसा माग्न पल्केका छन्। राउटे बस्तीमा जाने जो कोहीसँग पनि उनीहरू बिनाहिचकिचाहट पैसा माग्छन्। ‘केही मान्छेले उनीहरूसँग फोटा खिच्न र कुरा गर्न पैसा, रक्सी र सूर्ति दिने चलन छ,’ सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरासिंह थापाले भने, ‘यो विकृति हो। यसलाई रोक्नु पर्छ।’

राउटे समुदाय पश्चिम नेपालमा जंगलहरूमा फिरन्ते जीवन बिताउने गर्छन्। जंगलका गिठा–भ्याकुर खाने, काठका सामग्री साट्ने, बाँदर मारेर खाने भनी परिचित राउटेहरूको अहिलेको आयस्रोत भनेको विभिन्न दाताले दिने सहयोग बनेको छ। राउटे बस्तीमा एउटा साइन बोर्ड नै राखिएको छ। साइनबोर्डमा कसले कति शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ।

राउटे बस्तीमा जाने गुराँस गाउँपालिकाका नागरिकले प्रतिव्यक्ति १०, अन्यत्रका नेपाली नागरिक भए प्रतिव्यक्ति २०, विदेशी नागरिकले प्रतिव्यक्ति पाँच सय, मोबाइलबाट अडियो, भिडियो डकुमेन्ट्री बनाएको एक सय र क्यामेराबाट अडियो, भिडियो डकुमेन्ट्री बनाए एक हजार रूपैयाँ तिर्नुपर्ने जानकारी उक्त साइन बोर्डमा लेखिएको छ। सञ्चारकर्मीलाई भने परिचयपत्रका आधारमा छुट भनिएको छ। साइनबोर्ड लेखिदिने संस्थाको नाम भने उक्त साइनबोर्डमा लेखिएको छैन।

जंगलमा बस्ने र बसोबास सारिरहने भएकाले राउटे समुदायलाई फिरन्ते समुदाय भनिन्छ। राउटे समुदाय मान्छेको भीडभन्दा पर जंगलमा बस्न र घुमन्ते जीवन जिउन मन पराउने गर्छन्। अहिले यो समुदाय दैलेखको गुराँसे गाउँपालिकाको गुराँसे जंगल क्षेत्रमा बस्दै आएको छ।

प्रकाशित: २१ पुस २०७६ ०२:०९ सोमबार

राउटे द्रव्य_मोह