खोटाङ– खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवाको व्यवस्था मिलाएको छ। बृद्धबृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यातायात सेवाको व्यवस्था गरेको हो।
खोटाङ यातायात प्रालिसँगको सहकार्यमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त अपाङ्गलाई साकेला–दिक्तेल–काठमाण्डौं र साकेला–रसुवा–गाईघाट आवतजावत गर्नका लागि निःशुल्क यातायात सुविधा दिने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए।
ज्येष्ठ नागरिकको सहजयात्राका लागि पाँच वडा रहेको गाउँपालिकाका ६० वर्ष नाघेका र ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त बृद्धबृद्धालाई गत शनिबारदेखि निःशुल्क यातायात सेवाको व्यवस्था मिलाइएको हो। बृद्धबृद्धा तथा पूर्ण अशक्त र अति अशक्त अपांगता भएकाको निःशुल्क सडक यात्राका लागि सम्झौताकाक्रममा खोटाङ यातायात प्रालिलाई पेश्की स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
प्रालिको बसमा चढेका ज्येष्ठ नागरिक र अपांगता भएकाले परिचयपत्र देखाउनुपर्ने र बसका कर्मचारीले उनीहरुकोे परिचयपत्र नम्बरसहितको टिकट गाउँपालिकामा बुझाएपछि भुक्तानी दिनेलिने सम्झौता–पत्रमा व्यवस्था छ। निःशुल्क यातायातका लागि हालसम्म गाउँपालिकाका ९ सय १३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकिएको महिला विकास शाखाकी संयोजक निर्मला रिजालले बताईन्।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रको सडकमा निःशुल्क यात्राको व्यवस्था गरेको केही समयपछि साकेला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्था मिलाएको हो। ज्येष्ठ नागरिक र अपांगता भएकालाई यातायातमा सुविधा दिनका लागि खोटाङ यातायात प्रालिसँग पुस ११ गते सम्झौता गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।
प्रकाशित: २० पुस २०७६ ०७:३० आइतबार