समाज

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायका महिलाहरू। तस्बिर : गणेश/नागरिक

वीरेन्द्रनगर – राउटे समुदायको अन्य समुदायभन्दा रहनसहन, रीतिरिवाज र शैली भिन्न छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक छ तर राउटेबाट अरू समुदायले सिक्नुपर्ने कुरा पनि त्यतिकै छन्। त्यसमध्ये एक हो, छोउगोठमा नबस्ने प्रचलन। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने चलन व्याप्त छ, कतिले छाउगोठमै मृत्युवरण गर्नु बाध्यता छ। तर राउटे समुदायका महिला महिनावारी हुँदा छाउगोठ बस्दैनन्।

उनीहरू भिन्नै तरिकाले छाउ बार्छन्। छुट्टै छाउगोठमा बस्दा ज्यानसमेत जाने भएकाले घरभित्र छुट्टै एउटा कुनामा परिवारसहित छाउ बार्छन्। महिनावारी भएकी महिला चुलोमा गएर खाना पकाउँदैनन् तर घरभित्र भने बस्छन्। कर्णाली र सुदूरपश्चिमका अन्य समुदायमा महिनावारी भएका महिला घरभित्र पस्न पाउँदैनन्। धार्मिक संस्कार भन्दै उनीहरू छाउगोठ बनाएर बस्दा अनेकौं दुःख झेल्ने बाध्य छन्। ‘हाम्रो समुदायमा महिला महिनावारी भयो भने छाउगोठमा बस्दैनन्,’ राउटे युवा चित्रबहादुर शाहीले भने, ‘घरभित्रै बसाल्छम्।’ अरू समयमा नुहाउने, कपडा धुने नगरे पनि यो समयमा भने राउटे महिलाहरू सरसफाइमा ध्यान दिन्छन्।

‘नछुनेवारी) हुँदा चुलोमा जान दिँदैनन्,’ राउटे युवती सुन्दरी शाहीले भनिन्, ‘अन्य धार्मिक कार्यमा पनि सहभागी बनाइँदैन।’ छुट्टै अर्काे घरमा बस्ने संस्कार नभएको भन्दै उनले घरभित्रको छेउ कुनामा बस्दा पनि समस्या हुने बताइन्। ‘हामी चुलोमा जान खोज्दा पनि जान दिइँदैन,’ अर्की राउटे युवती मनिषा शाहीले भनिन्, ‘बाध्यताले कुनामा बस्नुपर्छ।’ परिवारले खाना कुनामै दिने र बस्न तथा सुत्नका लागि कपडासमेत छुट्टै दिने गरेको उनको भनाइ छ। चिसो सेरेटोमा एक्लै सुत्दा समस्या हुने गरेको अर्की राउटे युवती सुरमन शाहीले बताइन्।

छाउगोठ नबसे पनि छाउ बार्नु पनि गलत परम्परा भएको राउटे बस्तीकी जोडी शिक्षक दुर्गा खत्रीले बताइन्।पहिला महिनावारी हुँदा सरसफाइमा ध्यान नदिने उनीहरू पछिल्लो समय सरसफाइमा ध्यान दिने गरेका छन्। ‘महिनावारी हुँदा बिहानै कपडा लिएर धारामा नुहाउन जान्छन्,’ उनले भनिन्, ‘नुहाउन गए भने महिनावारी भए भन्ने थाहा हुन्छ।’ महिनावारी हुँदा धेरै राउटे महिलाले पुरानो कपडा प्रयोग गर्ने गरेका छन्। केही युवती भने सेनेटरी प्याड प्रयोग गर्ने गरेको जोडी शिक्षक खत्रीले बताइन्। ‘हामीलाई सेनेटरी प्याड ल्याइदिए प्रयोग गर्छाैं भन्छन्,’ उनले भनिन्, ‘ल्याइदिए पछि लुकीछिपी प्रयोग पनि गर्छन्।’ राउटे समुदायमा सेनेटरी प्याड प्रयोग गर्न पाइँदैन।

छाउ बार्नु गलत संस्कार भएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले बताइन्। ‘छुट्टै कुनामा बस्ने संस्कार पनि हटाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै खालको चेतना आवश्यक पर्छ।’ छाउगोठ नबस्ने चलन राउटे समुदायबाट पनि सिक्नुपर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी कर्णाली प्रदेश अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने प्रथा राउटे समुदायबाट समेत सिक्नुपर्ने उनले बताइन्। ‘छोउगोठ नभएर महिलालाई पहिला घर भित्रसम्म ल्याउन सक्नुपर्छ,’ उनले भनिन्, ‘पछि त्यस्तो कुसंस्कारलाई पनि हटाउँदै जानुपर्छ।’ राउटे महिलाहरूले पनि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका अन्य महिलासरह सातदिन छाउ (महिनावारी) बार्ने गरेका छन्।

प्रकाशित: १९ पुस २०७६ ०२:०९ शनिबार

राउटे_समुदाय रीतिरिवाज छाउगोठ