समाज

हवाई, इन्टरनेट र फोन सेवा अनियमित, चिसोले दुई बालकको मृत्यु

मुगुमाभारी हिमपात भएपछि जनजीवन अस्तव्यस्त। तस्विरः सुमन मल्ल÷नागरिक

कर्णाली ब्यूरो/ वीरेन्द्रनगर - कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातभएको छ। बिहीबार अपरान्हदेखि कर्णालीको प्रदेश राजधानी सुर्खेतकाउच्च पहाडी क्षेत्र, दैलेख, जुम्ला, कालीकोट, हुम्ला, मुगु, जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानमा लगातार हिमपात भइरहेको छ। जिल्लाका पहाडी क्षेत्रमा भने वर्षा भएको थियो।

हिमपातसँगै कर्णालीको जनजीवन कष्टकर भएको छ। विद्यार्थीहरू विद्यालय जान सकेनन् भने सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरू पनि कमै पुगे। सडक सञ्जालसँग नजोडिएको हुम्लालगायत कर्णालीका जिल्लाको हवाई सेवा पनि अनियमित भयो,जसले गर्दा कर्णालीआउने र जाने यात्रु गन्तव्यसम्म पुग्न सकेनन्। मुगु जिल्लाको पुर्वी करान भेगका नौ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत, सोरुगाउँपालिकको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिको रारा, ताल्चा विमानस्थल, बामशोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी रोवालगायतका स्थानमा एक फिटसम्म हिउँजमेको छ।

बाक्लो हिमपातले यातायात, विद्युत र सञ्चार सेवा समेत अवरुद्ध भएको छ। चिसो अत्याधिक बढेपछि विद्यालय पनि बन्द गरिएको छ।

अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडि नै हिमपात सुरु भएको हो। हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्। चिसोले गर्दा भेंडा बाख्रासहित अन्य पशु चौपायालाई समेत समस्या भएकोे मुगु सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए।बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएको उनको भनाइ छ।

जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको थियो। हिमपातसँगै अत्यधिक चिसो बढेको छ। उच्चहिमाली क्षेत्रमा गाईबस्तु पालनमा समस्या भइरहेको छ। बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन्। चिसोका कारण कर्णालीवासी घर बाहिर निस्कन सकेका छैनन्। जुम्लाको तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हुम्लामा दुईदिनदेखि हिउँ परिरहेको छ। हिमपात भई रहँदा हुम्लावासीको जनजीवन निक्कै प्रभावित भएको छ। हुम्लाको तापक्रम माइनस ८ डिग्रीमा झरेकोले यहाँ अत्यधिक चिसो छ। बाक्लो हिउँ परिरहेकोले जमिनमा डेढ फिटभन्दा बढी हिउँ जमेको छ।

सुर्खेत–दैलेख सडकखण्डको गुराँसेमा पनि हिमपात हुँदा यातायातका साधनलाई आवतजावत गर्न कठिन भएको छ। यहाँ करिब डेढ फिटसम्म हिउँ जमेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरबाट नजिक हुँदा यहाँ हिउँसँग खेल्ने मान्छेको घुइँचो बढेको छ। कर्णालीका जिल्लामा हिउँसँग खेल्न आन्तरिक पर्यटकसमेत बढेका छन्।

दुई दिनदेखि हवाई सेवा ठप्प

लगातारको हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्चा विमानस्थल बन्द भएको छ। हिमपात र बाक्लो हुस्सुका कारण हवाई सेवा बन्द भएको छ भने नाग्म–गमगढी सडक पनि बन्द भएको छ। अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको उक्त सडक पुनःबन्द भएको छ। सडक यातायात र हवाई सेवा बन्द हुँदा यात्रु अलपत्र परेका छन्।

इन्टरनेट सेवा बन्द

हिमपात र वर्षापछि कर्णालीमा हिमाली र पहाडी जिल्लामा इन्टरनेट र फोन सेवामा समस्या आएको छ। नेटवर्क आउने र जाने हुँदा यहाँका उपभोक्ताहरू मारमा परेका छन्।

किसानभने खुसी

यो वर्ष एक महिनाअगावै हिमपात भएपछि किसानहरू खुसी भएका छन्। हिउँदे बालीमा उत्पादन बढ्ने भन्दै उनीहरू खुसी भएका हुन्। विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँबाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेती पातिका लागि राम्रो मानिन्छ। अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसँग उम्रिने, विषेश गरी उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउँदे बालीतथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगुका निमित्त पन्चलाल बुढाले जानकारी दिए।

चिसोले दुईको मृत्यु

जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते। बिहानउठ्दा सबै उठे तर पीपल उठेनन्। कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए।

पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायकादुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्। ‘साँझ सामान्यअवस्थामा सँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भए छ।’ चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा उनीहरू चिसोबाट ज्यान समेत गुमाउन बाध्य छन्। राउटे बालबालिकामा पोषण समस्या हुँदा पनि चिसोमा उनीहरूलाई झनै ठूलो समस्या हुने सामाजिक सेवा केन्द्रका संस्थापकअध्यक्ष हिरासिंह थापाले जनाए। ‘उनीहरूमा पहिला कुपोषण हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरू चिसो पचाउन सक्दैनन्।’

सरकारले उनीहरूका लागि सुरक्षित बासको व्यवस्था गरिदिनु पर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काले जनाइन्। राउटे बस्तीमा अहिले रुघाखोकी, ज्वरोको प्रकोप देखिएको छ। उनीहरू अस्थायी टहरा बनाएर बस्ने गर्छन्। ‘उनीहरूको अस्थायी टहराले चिसो छल्दैन,’उनले भनिन्, ‘राउटे समुदायले लगाउने पोषाक पनि चिसो छल्ने खालका छैनन्।’ केही दिन अगाडि आफूले न्यानो कपडा र पोषण खानेकुरा सहयोग गरेको भन्दै उनले राउटे समुदायलाई सुरक्षितवास हुनु पर्ने बताइन्।

अहिले यहाँबाट राउटे बस्ती सर्ने तयारी गरेको राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले बताए। २२ वर्षीय कपिल शाही चार वर्ष अगाडि आगोमा पोलिएका थिए। अत्यधिक चिसो भएपछि आगो ताप्दै गर्दा उनी जलेका थिए। ‘अत्यधिक चिसो हुँदा हामीलाई गाह्रो हुन्छ,’ आगो ताप्दा जलेका कपिलले भने, ‘न्यायो लगाउने, ओड्ने र ओछ्याउने नहुँदा समस्या छ।’ हाल यहाँ ४६ घरपरिवार राउटे बस्ती छ।

साथै बिहीबार कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ भन्ने अन्य क्षेत्रमा सामान्य वर्षा भएको छ। हिमपात र वर्षापछि यहाँ अत्यधिक चिसो छ। चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ।

नगेन्द्र उपाध्याय/सुर्खेत, गणेश विशु/वीरेन्द्रनगर, धनबहादुर बुढा/जुम्ला, गोविन्द केसी/दैलेख, सुमन मल्ल/मुगु

प्रकाशित: १९ पुस २०७६ ०१:२९ शनिबार

कर्णाली हिमपात