समाज

सिद्धिचरण लोकमार्ग मर्मतको ६ महिना बितिसक्दा पनि कामदारले भुक्तानी पाएनन्

पहिरोले लगेको सडकमा नयाँ ट्र्याक निकालिँदै। फाईल तस्बिरः महेश्वर

कटारी(उदयपुर)- उदयपुरको सिद्धिचरण लोकमार्गको सडक मर्मत गरेको ६ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि कामदार हैरान भएका छन्। सिराहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ स्थित ठाँटी भन्ज्याङमा गएको साउनमा बर्खाले भत्काएको सडक मर्मत गरेको यतिका दिनसम्म भुक्तानी नपाएको कामदार कम्पनीले गुनासो गरेको छ।

गएको साउनमा परेको साताव्यापी भिषण वर्षाले पहिरो जाँदा ठाँटी भन्ज्याङ र आसपास आधा किलोमिटर बढी सडक पुरै बगाएपछि नयाँ ट्र्याक खन्न प्रयोग भएका दुईवटा स्काभेटरले गरेको कामको भुक्तानी सडक कार्यालयले नदिएको गुनासो कम्पनीको छ। पहिरोले पुरै सडक भत्काएर यातायात र पैदल आउजाउ ठप्प भएपछि रातारात मर्मत गर्न दुईवटा स्काभेटर र मानव जनशक्ति प्रयोग गरेको सडक कार्यालय लाहानले अहिले भुक्तानी दिन नमानेको कामदार कम्पनी डिसी कन्स्ट्रक्सन गाईघाटले जनाएको छ।

सडक अवरुद्ध भएपछि सडक कार्यालय र नगरपालिकाको आग्रह बमोजिम साउन १ गतेदेखि २७ गतेसम्म रातदिन नभनी काम गरेर नयाँ सडक खोलेर यातायात सुचारु गरेको भुक्तानी नपाउँदा आफुहरु मार्कामा परेको गुनासो कन्स्ट्रक्सन सञ्चालकद्वय हेम दाहाल र जीवन कार्कीले गरेका छन्। भएभरको जनशक्ति र इन्धन खर्च गरेर ६ सय घण्टा गरेको कामको ६ महिनासम्म भुक्तानी नपाउँदा आफूहरु अत्यन्त मार्कामा परेको उनीहरुको गुनासो छ। ‘हामीले झरी बर्षा र पहिरोको जोखिममा ज्यानको माया मारेर साईटमा खटेर काम गर्‍यौं’ दाहालको दुःखेसो छ, ‘काम सक्नेबित्तिकै भुक्तानी पाउँछौं भनेका थिए, अहिलेसम्म एकपैसो पाइएन।’

पहिरोले सडक पुरै भत्काएका कारण झण्डै २ सय मिटरमाथिबाट १ सय मिटर डाँडा खारेर नयाँ सडक खन्न झण्डै महिनादिन लागेको थियो। पहिरोले सिद्धिचरण लोकमार्ग अबरुद्ध हुँदा सिराहादेखि ओखलढुंगा मात्र होईन, कटारी नगरपालिकाका ४ वटा पहाडी वडासँगै ताप्ली गाउँपालिका जान–आउन रोकिएपछि नगरपालिका र सडक कार्यालय लाहानको समन्वयमा आपतकालीन मर्मत गरिएको थियो। दुईवटा स्काभेटरले रातदिन एक महिनासम्म काम गरेपछि यातायात सुचारु भएको थियो।

तर, काम सक्नेबित्तिकै दिने भनेको भुक्तानी अहिलेसम्म नपाएपछि आफुहरुलाई ठूलो मार्का परेको दाहालले बताए। डिसीजस्तै मर्मतमा लगाइएको अर्काे चुलीथाम कन्स्ट्रक्सनको पनि उत्तिकै रकम भुक्तानी रोकिएको कम्पनी सञ्चालक दिपक बुढाक्षेत्रीले बताएका छन्। रातदिन उपकरण र कामदार खटाएर गरेको कामको भुक्तानी लामो समयसम्म नपाउँदा व्यवसायमा ठूलो मार परेको बुढाक्षेत्रीले बताए।

३/३ सय घण्टा काम गरेका दुवै कम्पनीले १५/१५ गरी ३० लाख भुक्तानी लिनुपर्ने बील साईटमा खटेका सडककै प्राविधिकले भुक्तानीका लागि त्यतिबेलै सिफारिस गरिसकेका छन्। भदौ पहिलो साता फाईल बुझाएर भुक्तानीको पखाईमा रहेका कम्पनीले पटकौं धाउँदा पाउन नसकेको गुनासो उनीहरुको छ। पहिरोले सडक लगेपछि मर्मतका लागि नगरपालिका, वडादेखि जनता सबैले गरेको आग्रह अनुसार काम गरेको भुक्तानी नपाउँनु दुःखद भएको पीडित पक्षको भनाई छ।

‘हामीलाई संघीय सरकार, प्रदेश र स्थानीय सरकार जताबाट भए पनि काम सक्नेबित्तिकै भृक्तानी दिने भनिएको थियो’ कार्कीले भने ‘त्यै अनुसार हतार हतार गरेर आफ्नै लगानीमा जनशक्ति र उपकरण प्रयोग गरेर काम गर्‍यौं। सडककै साईट इन्चार्जले बनाए अनुसारको बील लिएर भुक्तानी माग्न गएको यतिका दिन भयो, पैसो पाइएन।’

कार्कीका अनुसार सडक मर्मत गरेको लाहान सडक डिभिजन इन्जिनियर (डिई) विनोद साह र पूर्वाञ्चल सडक निर्देशनालय इटहरीका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) रामहरि पोखरेल दुवै निर्माणस्थलमै पुगेर प्रत्यक्ष अवलोकन गरेका थिए। दुवै हाकिमले आफ्नै आँखाअगाडि काम गरेको देखेको र सडक सुचारु गरे पनि भुक्तानी किन रोकियो भन्ने विषय आफूहरुले बुझ्न नसकेको कार्की र दाहालको गुनासो छ।

भुक्तानी माग्न जाँदा लाहान सडक डिईले ‘निर्देशनालयलाई भन्नू’ भन्ने र निर्देशनालय जाँदा ‘लाहानले लगाएको काम उतै भुक्तानी माग्नू’ भनेर एकले अर्कालाई देखाउँदा आफूहरु मर्कामा परेको गुनासो उनीहरुको छ। दसैअघि नै भुक्तानी पाउला भन्ने आसा देखाइए पनि अहिलेसम्म लाहान र इटहरी धाउँदा हैरान हुनुपरेको उनीहरुको भनाई छ।

लाहान सडकका डिई विनोद साहले सबै बील भपाई आईनसकेकोले भुक्तानी रोकिएको हुनसक्ने बताए। उनले आफूभन्दा माथिल्लो तहबाट स्वीकृति आउन बाँकी रहेको र बील भपाई पनि सबै नआएको भनेर भुक्तानी रोकिएको हुनसक्ने अनुमान लगाए। केही दिन ढिला भए पनि काम गरेको भुक्तानी उनीहरुले पाउने डिई साहले बताएका छन्।


 

प्रकाशित: १८ पुस २०७६ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App