समाज

कर्णालीमा हिमपात, जनजीवन कष्टकर

जुम्ला- यो बर्ष कर्णालीमा दोस्रो पटक हिमपात भएको छ। हिमपातको कारण कर्णालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटको जीवन कष्टकर बनेको छ। जुम्लामा शुक्रबार विहानैदेखि हिमपात भएको थियो।  हिमपातसंगै अत्यधिक चिसो बढेको छ। उच्च हिमाली क्षेत्रमा गाईवस्तु पालनमा समस्या भइरहेको छ। बालबालिका र बृद्धबृद्धा प्रभावित बनेका छन्। चिसोका कारण कर्णालीबासी घर बाहिर निस्कन सकेका छैनन्।

तीन दिनदेखि बादल लागेर चिसो बढेकोमा बिहानैदेखि मात्र हिउँ पर्न थालेको हो।  हिमपातले शैक्षिक संस्था प्रभावित छन्। जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।

हिमपातले चिसो बढेसंगै जिल्ला प्रशासन कार्यालय जुम्लाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले विहानैदेखी जिल्ला भरी हिमपात भईरहेकाले वाटो चिप्लो हुने भएकाले सडक दुर्घटना हुन सक्ने भन्दै चिसोमा आवश्यक काम बाहेक लामो यात्रामा नहिड्न सुझाव दिइएको हो। सम्भावित विपतबाट सुरक्षित र न्यानो गर्न समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। हिमपातले कर्णालीको हवाइ यातायात ठप्प छ। सडक यातायात पनि विहानदेखि चल्न सकेका छैनन्। जसका कारण यात्रु अलपत्र छन्।

जुम्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहमा एकसाथ हिमपात भइरहेकोछ। हिउँले डाँडाकाँडा सेताम्य भएका छन्। उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ जमिसकेको स्थानीय बताउँछन्। यसै गरी मुगु जिल्लाको रारा, मुर्मा, शोभा, बाम, ताल्चालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ।

हिमपातका कारण प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको रारातालसम्म जाने पर्यटक जान सकेका छैनन्। नाग्म हुदै रारा जाने सडक अवरुद्ध भएको छ। ताल्चा बिमानस्थलमा दुइ दिनदेखि हवाइ सेवा सञ्चालनमा आएको छैन्। गत मंसिर २८ गते जिल्लामा ठूलो हिमपात भएको थियो। हिमपातका कारण गमगढीमा नमस्तेको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ।

हुम्लामा दुइ दिन देखि हिउँ परिरहेको छ।  हिमपात भै रहँदा हुम्लाबासीको जनजीबन निक्कै प्रभाबित भएको छ।  हुम्लाको तापक्रम माईनस आठ डिग्रीमा झरेकोले यहाँ अत्यधिक चिसो छ।  बाक्लो हिउ परिरहेकोले जमिनमा डेढ फिट भन्दा बढी हिउ जमेको छ। हिमपातले सेवाग्राहीहरु ज्यादै न्यून संख्यामा आएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत बताउँछन्।  जिल्ला प्रशासन, मालापोत, स्वास्थ्य, कृषि, पशु, घन, घरेलु जस्ता कार्यालयहरुमा पनि सेवाग्राहीको उपस्थिती शून्य छ।

हिमपात भइरहेकोले सडक चिप्लो हुनेभएकोले समयमै सचेत रहन् हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले आग्रह गरेकी छिन्। 

 

प्रकाशित: १८ पुस २०७६ ०९:५६ शुक्रबार

कर्णाली हिमपात जनजीवन