समाज

कश्मीर भिडन्तको चोट गोरखालाई, घरमा सन्नाटा, शोकाकुल गाउँ

अर्जुनको परिवारको फोटो देखाउँदै नाताले ठुलीआमा पर्ने छिमेकी , गोनपा ५ मा रहेको अर्जुनको घर। तस्बिर:नरहरि/नागरिक

गोरखा- गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ।

छोरोको मृत्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी (अर्जुनकी श्रीमती) लाई लिएर केही आफन्तको साथ बुधबार नै घरबाट निस्किए। उनीहरु काकड्भिट्टासम्म शव लिन भनेर हिँडेका छिमेकी नन्दकुमारी थापामगर बताउँछिन्। भारतीय सेनाले कहाँसम्म शव ल्याउँछन् भन्ने यकिन परिवारलाई पनि छैन। अहिले अर्जुनका घरमा दिदी पर्मिला मात्रै छिन्। बुधबार साँझदेखि नै घरको चुल्हो बलेको छैन। रछ्यानमा सुकाइएका भाँडा यसै छन्। गाई र बाच्चाबाच्छीले बिहानदेखि घाँस पराल खान पाएका छैनन्।

भूकम्पमा भत्किएपछि तला काटिएको पुरानो घर र नयाँ बनेको दुई कोठे घरमा उनको परिवार गुजारा गर्दै आएको छ। मुलढोकाको छेवैमा राखिएको भगवानको तस्बिर र भित्र छिर्नेबित्तिकै पूजा कोठा। भित्री कोठमा पुरानो फ्रेमभित्र आमा, बाबु र बहिनीहरुसँगको बाल्यकालको तस्बिर हेर्दा अहिल्यै बोलिहाल्ने जस्तो। निकै दुःखले हुर्किएका अर्जुन बाबुलाई औधी माया गर्थे। अर्जुन लाहुरे भएपछि उनको बाबुलाई अफ्नो दुःखको दिन सकिएको खुसी छिमेकीसँग सुनाउँथे तर उनको खुसी पाँच वर्ष पनि पूरा टिकेन। घरमा बस्तुभाउ धेरै भयो भनेर उनी आफू भारतीय सेनामा जागिरे भएपछि एक हल गोरु बेचिदिएका थिए।

बिहीबार दिउँसो घर पुग्दा अर्जुनको दिदी पर्मिलाले कुरा गर्ने शाहस गरिनन्। भाईको बारेमा बोल्न, कुराकानी र परिवारको बारेमा बताउन उनलाई निकै गार्‍हाे लाग्थ्यो। उनी घर नै छाडेर गोठ भन्दा तल गाउँतिर लागिन्। अँध्येरो अनुहारमा गहिरो पिडाको झल्को महशुस गर्न सकिन्थ्यो। नचिनेकाहरुसँग त परको कुरा छिमेकीसँगै दोहोरो कुरा गर्ने मानसिकता उनको थिएन।

छिमेकीहरु नजिकै एउटा घरमा बसेर अर्जुनको घर तर्फ हेर्दै मुखामुख गरिरहेका थिए। छिमेकी तुलकुमारी थापामगरले भनिन् ‘विहे गरेर भोज खुवाएको गएको असार २२ गते हो, बिचरा अहिले भिडन्तमा पर्‍यो भन्छन्।’ अर्जुनको आमा क्यान्सर रोग लागेर तीन वर्षअघि बितेकी रहिछन्। बाबु खेती किसानी गर्छन्। एउटी बहिनीको विहेवारी भईसक्यो। उनको ठुलीआमा नन्दकुमारीले थपिन् ‘एक महिना बसेर पुसको ५ गते फर्किएको थियो, विहे गरेर फर्केपछि पहिलो छुट्टीमा आएको थियो, अब कहिल्यै नआउने भो।’

छुट्टीमा आएका बेला घरतिरै बस्ने, बालबच्चासँग खेल्ने गर्थे। उनको गाउँ मगर समुदायका बाहुल्यता रहेको गाउँ हो। छिमेक आसपासमा तीन जना लाहुने छन् भने तल्लो गाउँसम्म ८/१० जना छन्। अर्जुनको भिडन्तमा मारिएको खबरले रिप गाउँका मानिसको मनमा चिसो पसेको छ।  बुधबार जम्मु कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापामगको मृत्यु भएको थियो।

 

प्रकाशित: १७ पुस २०७६ ११:१९ बिहीबार

कश्मीर_भिडन्त गोरखा