समाज

त्रिशूली नदी सफाइ गरी भ्रमण वर्षलाई स्वागत

बुधबार बेत्रावतीस्थित त्रिशूली नदी सरसफाइ गरिँदै। तस्बिरः नागरिक

नुवाकोट – ‘धर्म, संस्कृति र सभ्यताको पहिचान, प्रदूषणमुक्त त्रिशूली नदी हाम्रो अभियान’ नारासहित ऐतिहासिक एवं धार्मिक त्रिशूली नदी सफाइ अभियान सुरु गरिएको छ। बुधबारदेखि सुरु नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी जिल्ला समन्वय समिति नुवाकोटको नेतृत्वमा विभिन्न संघसस्थासँग सहकार्य गरी त्रिशूली नदी सफाइ अभियान २०७६ मूल समारोह समितिले सो अभियान सुरु गरेको हो।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्यलाई आत्मसात् गर्दै पर्यटकीय स्थलवरिपरि सफा र सुन्दर वातावरण निर्माण गर्न लागि परेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए। पर्यटन विकासका लागि भन्दै भौतिक पक्ष निर्माणमा जोड दिनुभन्दा त्यस्ता पक्षको मर्मतसम्भार गर्न सके स्रोत र साधनको सदुपयोग हुने तामाङको भनाइ छ। त्रिशूली नदीको सुन्दरतामा गिरावट आउन नदिने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रा गर्न सहज हुने भन्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले आगामी दिनमा पनि चरणबद्ध रूपमा त्रिशूली नदीआसपास पर्ने धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको सरसफाइ गरिने बताए।

यस्तै विदुर नगरपालिकाका हरेक स्थानमा ‘फोहोरमुक्त समाज निर्माण गर्न एक घर दुई डस्बिन’ कार्यक्रम लागू गरिने भएको छ। ‘विदुर नगर हाम्रो सहर, स्वच्छ सफा राख्ने सबैको रहर’ भन्दै विदुर नगरपालिकाले प्रत्येक घरलाई एउटा डस्बिन उपलब्ध गराउने र सम्बन्धित घरले अर्को डस्बिन खरिद गर्नुपर्ने प्रमुख सञ्जु पण्डितले बताए। नगरपालिकाले बेत्रावती टोल सुधार समितिलाई बुधबार ६ थान डस्बिनसमेत प्रदान गरेको छ। कार्यक्रमको उद्घाटन समारोहमा सहभागीले अबदेखि आफ्नो घर, टोल तथा सार्वजनिक स्थलमा फोहोरजन्य पदार्थ जथाभावी नफाल्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित: १७ पुस २०७६ ०२:४४ बिहीबार

त्रिशूली_नदी सफाइ भ्रमण_वर्ष