समाज

सीमामा पर्यटकलाई भव्यरूपमा स्वागत फोटोसहित

भैरहवा- भिजिट नेपाल २०२०को स्वागतको अवसरमा आज बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेश निःशुल्क गरिएको छ। लुुम्बिनीमा आएका पर्यटकलाई लुम्बिनी विकास कोष, पर्यटन व्यवसायीहरुले बाजागाजासहित स्वागत गरी लुम्बिनीको बारेमा जानकारी गराएका छन्।

स्वागतकै अवसरमा लुम्बिनी आएका पहिलो २५ जना विदेशी पर्यटकलाई विकास कोषले निःशुल्क रुपमा मयादेवी दर्शनसहित बोटिङ पनि गराएको छ। भिजिट नेपाल २०२०को अवसरमा आजदेखि लागू हुने गरी स्थानीय, पर्यटन व्यवसायी होटल व्यवसायीले वर्षभरि १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

यसका साथै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थ होटल एशोसियशन र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल सोट्टोले पनि वेलहिया नाकाबाट आएका विदेशी १७ पर्यटकलाई स्वागत गरेको छ। भ्रमण वर्षको स्वागतको अवसरमा स्थलमार्गबाट आउनै ती पर्यटकहरुलाई खादा माला, लुम्बिनीको प्रचार सामाग्री र मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको हो।

रुपन्देहीमा कलाकारले नचाए हजारौलाई
रुपन्देहीको दर्जन बढि ठाँउमा नेपाल भ्रमण २०२०को स्वागत र वर्ष २०१९को विदाई गरिएको छ। बाह्य र आन्तरिक पर्यकटलाई स्वागत गर्नुका साथै मनोरञ्जन प्रदान गर्न जिल्ला भरिनै ठाउँठाउँमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

पर्यटक र स्थानीयलाई मनोरञ्जन दिनका लागि रुपन्देहीको भैरहवामा सिद्धार्थ होटल एशोसियन सानको आयोजनामा रंगशाला रोडमा साँस्कृतिक कार्यक्रमसहित भैरहवा खाना महोत्सव(फुड फेस्टिबल) गरेको छ। नेपाल भ्रमण वर्षको स्वागत प्रदेशस्तरिय ठाकुद्वारामा भए पनि यस क्षेत्रका बासिन्दा र भारतको सबैभन्दा ठूलो स्थलमार्ग एवं सबैभन्दा बढी बिदेशी तथा भारतीय पर्यटक आउने नाकाका रुपमा भैरहवा क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन खाना महोत्सव भएको छ।

साँस्कृतिक कार्यक्रममा जिटिभी को सारेगामाका चर्चित कलाकार आयुश केसी र प्रितम आचार्यसहित स्थानीय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिएको थियो। त्यस्तै भैरहवा र बुटवलमा पौवा होटलले पनि भ्रमण वर्षको स्वागतकै अवसरमा न्यू ईयर ईभ २०२० को विशेष कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय तथा चर्चित कलाकार प्रमोद खरेल, जन गायक जीवन शर्मा, राधिका हमाल, लोक गायिका टिका प्रसाई, हास्य कलाकार राजा राजेन्द्र, रुद्रादेवी कला केन्द्रले हजारौलाई मनोरञ्जन प्रदान गरेका थिए।

त्यस्तै भैरहवास्थित होटल निर्वणामा डिजेसहित लाइभ म्युजिक कार्यक्रम, होटल रेडसनमा पनि लाइभ म्युजिकसहितको साँस्कृतिक कार्यक्रम, कोटिहवास्थित टाइगर प्यालेसमा दिवा निकिता दत्त, मल्लीका सिरावतले, कमेडियन दुर्गेश खतिवडा, एमटी ८८४६ बैण्डले मनोरञ्जन दिएका थिए। त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्धयामा छैठौं लुम्बिनी सडक खाना महोत्सव भएको छ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनीको स्थानीय खानालाई ब्राण्डीङ गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न र भिजीट नेपाल २०२०लाई स्वागत गर्न लुम्बिनी होटल संघ, लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका, भिजीट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ले आयोजना गरेका थिए। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सडक महोत्सवको उद्घाटन गरेका थिए। त्यस्तै मणिग्रामस्थित ड्रिम ल्याण्ड गोल्ड रिर्सोटमा पनि कुटुम्ब बैण्ड, सुवोध गौतम, डिजे सारु र अन्य नृत्यका कार्यक्रमले नयाँ वर्ष र भिजिट नेपालको स्वागत गरेका थिए।

होटल एशोसियशन नेपाल (हान)ले पर्यटक आगमन र बसाई बढाउन निजी क्षेत्रबाट भ्रमण वर्ष २०२० का लागि आवासमा ३० प्रतिशत र पेय पदार्थमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ  भने लुम्बिनीका पर्यटन व्यवसायीले पनि वर्षभर विविध छुटको व्यवस्था गरेका छन्।

 

भिजिट_नेपाल_२०२० लुम्बिनी