समाज

विद्यालयमा सेनेटरी प्याड राखेपछि नियमित भए छात्रा

रोल्पा- शौचालयभित्र भित्तामा झुन्डिएको हरियो बाकसभित्र सेनेटरी प्याड राख्न थालेपछि छात्राहरुले सहज महसुस गर्न थालेका छन्। रोल्पा नगरपालिकाकोे विकट ९ न. वडामा रहेको ह्वामा गाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको शौचालयभित्र केहि समय यता सेनेटरी प्याड उपलब्ध हुन थालेको छ।

सेभ द चिल्ड्रेनको सहयोगमा हुरेक रोल्पाले छात्रामैत्री शौचालय बनाई दिएपछि विद्यार्थी खुसी छन्। विद्यालयका प्रधानाध्यापक हुकुमप्रसाद आचार्यका अनुसार विद्यालयमा सेनेटरी प्याड राख्न थालेपछि गतवर्षको तुलनामा छात्राहरु विद्यालयमा अनियमित हुने दर धेरै घटेको छ।

‘विद्यार्थी अनुकुल भौतिक पूर्वाधारले फरक पार्दो रहेछ। अहिले छात्राहरुलाई धेरै सजिलो भएको छ।’ प्रअ आचार्य भन्छन्, ‘महिनावारीको समयमा छात्राहरुलाई हुने असजिलो घटेको छ।’ कक्षा ८ सम्म सञ्चालित यो विद्यालयमा ९९ छात्रा र १ सय ५ छात्र गरी २ सय ४ जना विद्यार्थीले अध्ययन गर्छन्।

छात्रामैत्री शौचालय बनेपछि भने कक्षा ६ देखि ८ सम्मका जम्मा ४२ छात्राहरुमा ९२ दशमलव ५ प्रतिशत अथवा १४ दशमलव ५ प्रतिशतले नियमित कक्षा उपस्थिति वृद्धि भएको छ। ‘हामी सिक्न सक्छौं’ परियोजना अन्तर्गत तल्ला कक्षाका विद्यार्थीलाई बसाई व्यवस्थापन तथा शैक्षिक सामाग्रीसमेत सहयोग गर्दै आएको हुरेककी दिलकुमारी बुढाले बताइन्।

विद्यालयमा अध्ययनरत छात्राहरुले छात्रामैत्री शौचालय बनेपछि आफूहरुलाई सहज भएको बताए । हरेक महिना महिनावारीको समयमा विद्यालय छोड्नु पर्ने उनीहरुले अहिले सहज भएको बताउँछन्। ‘पहिले महिनामा तीन चार दिन स्कुल आउँदैनथ्यौं। कहिले काहि त स्कुल आएको बेला पनि छोडेर घर जानुपर्दथ्यो।’ कक्षा ८ की छात्रा शर्मिला बाँठाले भनिन् ‘स्कुलमै नछुने हुँदा तनाव हुन्थ्यो। अहिले त सजिलो छ, स्कुल छोड्नुपरेको छैन।’

कक्षा ८ की अर्कि छात्रा चिजमाया पुनले महिनावारी हुँदा भोग्नुपर्ने तनावबाट मुक्त भएको बताइन्। यो विद्यालयले आफ्नै स्रोतबाट मासिक तीन हजार खर्चिएर सेनेटरी प्याड खरिद गर्ने गरेको प्रअ आचार्यले बताए।

प्रकाशित: १६ पुस २०७६ १०:१६ बुधबार

विद्यालय सेनेटरी_प्याड छात्रा