समाज

थारू समुदायमा माघीको रौनक

नेपालगञ्ज – पश्चिम क्षेत्रका थारू समुदायको मुख्य पर्व माघी आउन दुई सातामात्र बाँकी हुँदा विभिन्न गाँउमा उल्लासमय वातावरण सुरू भएको छ।

वर्षभरिको दुःख र श्रमलाई बिर्सदै थारू समुदायका बालबालिकादेखि वृद्धवृद्धाहरू अहिले माघीको तयारीमा जुटेका छन्। कोही गीत र नृत्यको तयारीमा जुटेका छन्। कोही घर सिगार्न लागिपरेका छन्। आगामी पुस २९ देखि सुरू हुने सप्ताहव्यापी माघीको तयारीमा थारू बस्तीमा अहिलेदेखि सुरू भइसकेको छ। माघी पर्व तयारीमा जुटेका थारू समुदाय अहिले अन्नपात कुटानी, लत्ताकपडा किन्ने र सरसफाइ गरिरहेको देखिन्छ। माघीको अवसर पारेर उनीहरू महŒवपूर्ण योजनाहरू निर्माण गर्ने प्रचलन छ। यतिबेला घर लिपपोत गरी सिँगारिएका छन् भने बस्ती सरसफाइ गरी चिटिक्क पारिएका छन्। यसै गरी थारू नाचगानले बस्ती गुञ्जायमान बनेका छन्।

मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका थारू समुदाय माघ उत्सव मनाउन घर फर्किरहेका छन्। पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने माघलाई मिठो खाने र राम्रो लगाउने उत्सवका रूपमा लिइन्छ। मघौटा नाच यो पर्वको अर्को विशेषता हो। ‘माघी सुरु भएसँगै मीठो खानपिनका साथै घरघरमा गएर सकिया नाच गाएर रमाइलो गर्छौं,’ स्थानीय बबिता चौधरीले भनिन्। नाचमा बूढादेखि बालकसम्म सहभागी हुन्छन्। यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने चलन छ। सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको उनले बताइन्। ‘पुस मसान्तका दिन बनाइने खानाका परिकारका लागि चामलको पिठोलगायतका सबै तयार गरिसकेका छौं,’ उनले भनिन्।

यो पर्वमा ढिकरी, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने चलन छ। माघीको स्वागतको निम्ति यसको अघिल्लो रात ‘जिता मरना’ गरिन्छ। सो रात उनीहरूले सखिया नृत्य प्रदर्शन गर्छन्।

आगामी माघ १ मा नदी र जलाशयमा गएर लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का लुटाउने प्रचलन रहेको छ। माघीको अवसरमा थारू समुदायले आ–आफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन्। त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा मेला लाग्ने गर्दछ।

प्रकाशित: १६ पुस २०७६ ०२:४२ बुधबार

थारू_समुदाय माघी