समाज

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

फौजी कीरा रोक्ने जैविक विषादीका अनुसन्धानकर्ता छात्राहरूसँग वैज्ञानिक प्रमोद अर्याल। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्। अनुसन्धान तथा विकासको चरण पार गरी प्रयोगशालामा परीक्षणसमेत सकिएपछि उक्त जैविक विधिबाट तयार उत्पादित सामग्रीको सफल परीक्षणमेत भइसकेको उनीहरूले बताएका छन्। ती सामग्रीको परीक्षण जो किसानका बालीउपर गरिएको थियो, तिनले सन्तोषजनक नतिजा देखिएको जनाएपछि अनुसन्धानकर्ताहरू हौसिएका छन्।

अमेरिका, दक्षिण अफ्रिकापछि एसियाली मुलुकहरूमा फैलिएको फौजी कीरालाई पछिल्लो समय बालीनालीका लागि सबभन्दा ठूलो शत्रुका रूपमा लिइएको छ। यस कीरामा विषादीको प्रयोगसमेत प्रभावहीन देखिँदै आएको छ। यस कीरालाई अन्न संकटको कारकका रूपमा हेरिँदै आएका बेला नेपालले यसको समाधान दिन सके देशका लागि गर्वको विषय हुने जैविक प्रविधि केन्द्रीय विभागका वरिष्ठ वैज्ञानिक प्रमोद अर्याल बताउँछन्। उनकै निर्देशनमा अनुसन्धानकर्ताहरू सक्रिय हुँदै आएका छन्। उनले आउँदो वर्ष नेपालमा फौजी कीरा नदेखिनेसमेत दाबी गरे।

नेपालबाट रासायनिक मल र विषादी हटाउँदै लैजाने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको भए पनि अनुसन्धानकर्ताले तयार गरेको जैविक मल फौजी कीरा नियन्त्रणमा पनि प्रभावकारी देखिएको आर्यालले बताए। ‘त्यसपछि थप अनुसन्धान गरेर एक किसिमको जैविक विषादीसमेतको विकास गरिएको छ,’ अर्यालले भने, ‘सिरोमोनासमा, ताइवान, स्विटजरल्यान्ड र दक्षिण कोरियाका बेग्लाबेग्लै अनुसन्धानकर्ता समूहले फौजी कीरा नियन्त्रणका लागि जैविक विधि प्रयोगका लागि अनुसन्धान गरिरहेका छन्। उनीहरूभन्दा अगाडि हामीले यसमा सफलता पाएका छौं। आधारभूत वैज्ञानिक अध्ययनपछि जैविक विषादीको उत्पादन नै थालिसकेका छौं।’

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित अल्फाएग्रो भन्ने कम्पनीले अनुसन्धानकर्ताहरूको सहकार्यमा जैविक विषादीको उत्पादनै सुरु गरिसकेको छ। अर्यालका अनुसार यस उत्पादनले एकातिर जैविक मलको काम गर्नेछ भने अर्कोतिर जैविक विषादीका रूपमा समेत फौजी कीरालाई नियन्त्रण गर्नेछ। यसको प्रयोगले रासायनिक मल तथा विषादीलाई विस्थापित गर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।

चिज उत्पादन गर्दा निस्किने पानी र औद्योगिक इन्धनका रूपमा प्रयोग हुने भुस जलेर निस्किने ‘छायी’ (खरानी) लाई जैविक विषादी/मलको कच्चा पदार्थका रूपमा प्रयोगमा ल्याइएको छ। ‘खासमा ब्याक्टेरियाले विषादीका रूपमा काम गर्ने गरेका छन्। हामीले सिंगल ब्याक्टेरिया नभएर सातआठ किसिमका ब्याक्टेरियाको समन्वय गरेर सन्तुलन मिलाएका छौं,’ अर्यालले भने, ‘यसलाई विकसित गर्न लामो अनुसन्धान लागेको भए पनि उसको उत्पादन गराउन भने सहज छ। किसानले आफू नै घरमा यसलाई बनाउन सक्छन्।’ व्यावसायिक रूपमा बिक्री–वितरणका लागि अल्फाएग्रोले भने यस जैविक विषादी/मललाई ठोस गेडा (दानेदार) स्वरूपमा उत्पादन गरिरहेको छ।

यसअघि हेटौंडास्थित आफ्नै अनुसन्धान केन्द्रमा मकैबालीमा अल्फाएग्रोले यस उत्पादनको परीक्षण प्रयोग गरेको थियो। त्यसपछि बारा जिल्लाको बेहरा बलुवामा मकै बाली फौजी कीराको प्रकापबारे समाचार आएपछि अल्फाले त्यहाँ किसानहरूको बालीमा यसको परीक्षण प्रयोग गरेको थियो। त्यसपछि आएको नतिजाले अनुसन्धानकर्तामा उत्साह देखिएको छ भने किसानहरू खुसी भएका छन्। जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत छात्रा मञ्जु पुन चार सदस्यीय अनुसन्धान दलकी संयोजक हुन्। उनले आफूहरूले बनाएको जैविक मलले कीरासमेत मार्ने भएपछि यसलाई जैविक विषादीसमेत भन्न सकिने बताइन्।

नेपालका विभिन्न जिल्लामा देखिएको अमेरिकी फौजी कीराको प्रकोप भएको बेला बाराबाट यसको रोकथाम सुरु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा बलुवाका किसानहरू पनि पीडित भएको बेला विज्ञहरूको टोलीले घरमै तयार गर्न मिल्ने जैविक विषादी बनाउने विधि हस्तान्तरण गरेका हुन्। उक्त विधि फौजी कीराका लागि दुस्मन तथा आफूहरूका लागि राहतको काम गरेको किसानले बताएका छन्। फौजी कीराले हैरान परेपछि मकै बालीमा छर्किएको औषधिले समेत काम गरेको थिएन। बेहरा बलुवा टोलका दुई सयभन्दा बढी किसानले सयौं बिघामा मकै खेती लामो समयदेखि गर्दै आएका छन्।

‘मैले नौ कट्ठामा मकै लगाएको छु। कीराले निकै सताएको थियो। जैविक औषधि छर्केपछि कीरा मरेको पाइएको छ,’ स्थानीय रामप्रकाश साहले भने, ‘बोटमा नयाँ पात पलाएपछि हामी किसानमा पनि आशा पलाएको छ।’ स्थानीय हृदयेश चौरसियाले कीरा अहिले किसानको सामूहिक समस्या भएको बताए। ‘मैले एक कट्ठा खेतमा जैविक औषधि छर्केको छु। नतिजा राम्रो छ, कीरा छैन अब बोटहरू फेरि विकास हुन थालेका छन्,’ चारैसियाले भने।

फौजीको पृष्ठभूमि
‘फल आर्मी वर्म’ अर्थात् फौजी कीरा पुतली समूहअन्तर्गत पर्ने कीरा भएको विज्ञहरू बताउँछन्। फौजी कीरा रातिको समयमा मात्रै मकैलगायत बालीमा चरेर नोक्सान पु¥याएको पाइन्छ। फौजी कीराले मकैको पात, गुभा, घोंगालगायतमा क्षति पु-याउने गरेको छ। यसले मकै मात्रै नभई धान, गहुँ अन्न तथा आलुलगायत तरकारी बालीमा लाग्ने गरेको विज्ञ तथा कृषि प्राविधिकहरू बताउँछन्। अमेरिकापछि फौजी कीरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएर दुई वर्षभित्रै पूरा अफ्रिकाभर फैलिएको पाइन्छ। सन् २०१८ मा यो कीरा भारतको कर्नाटक राज्यमा एसियामा पहिलोपटक देखिएको थियो।

फौजी कीराको पुतली एक रातमै सय किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिक आलेख पाइन्छ। फौजी कीराको यही क्षमताका कारण यो फैलिँदै गएको छ। भारतसहित थाइल्यान्ड, चीन, भियतनाम, श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएछ भने यसै वर्ष नार्कअन्तर्गतको किट विज्ञान महाशाखाका विज्ञले यसको नेपाल प्रवेशको पुष्टि गरेका थिए। घरमा समेत बनाएर प्रयोग गर्न सकिने जैविक औषधिले भने फौजी कीराबाट छुटकारा दिलाउने आशा जागेको परीक्षण प्रयोग गरेका किसान बताउँछन्। एक कट्ठाको मकै खेतीमा माटोका लागि एक किलो र अन्य बालीका लागि सय ग्राम औषधि चाहिने विज्ञहरूको भनाइ छ।

प्रकाशित: १६ पुस २०७६ ००:४७ बुधबार

अनुसन्धानकर्ता त्रिभुवन_विश्वविद्यालय फौजी_कीरा