समाज

सुदूरपश्चिममा पुसे पन्ध्रको अनौठो परम्परा

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ। पुस १५ गते ठूलीरातका दिनमा पनि मनाईन्छ। यस दिन रात वर्षको सबै भन्दा लामो हुने भएकाले ठूलीरात भनिन्छ। आजका दिन तरुल, सखरगञ्ज पाकाएर खाने प्रचलन छ। आजका दिन घाँस समेत नकाट्ने परम्परा छ। उत्तराईन्का दिन काटे उतर्ने अर्थात पछि नपालाउने जनविश्वास छ। 
ठूलीरातमा राति मीठा परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रहेको पण्डित लोकराज भट्टले बताए। रातभरि दन्त्य कथा, कहानी स्थानीय भाषामा आइना, बात उनले भने, सुन्ने सुनाउने तथा तरुल जस्ता खानेकुरा पकाएर खाने गरिन्छ।

पुसे पन्ध्र उत्तत्रराईनकी रातका रुपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने प्रचलन छ। तेल वा ध्यूमा तारेर खाने कुरा तयार पारिन्छ। 

तिहारमा भैली खेलेर जम्मा भएको रकम बाट वनभोज खाने पनि प्रचलन छ। पुस १५ को आसपास सबै भन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरलाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानीयहरु बताउँछन्।

यस पर्वमा विवाहित छोरीलाई माईतमा बोलाई भव्य रूपमा स्वागत सत्कार गरिन्छ। विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खासै महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ। शहर बजार क्षेत्रमा बसोवास गर्नेहरुले आज राती नाँच गान गर्दै रात बिताउने गरेका छन। पहिलो देउडा गाईने चलन भए पनि पछिल्ला समयका युवाहरुले डिजे बजाई नाँच्ने रमाउने गरेका छन। 

अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबै भन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रुपमा मानिन्छ। उत्तराईन देखि नै रात घट्दै जाने र दिन बढ्दै जाने भन्ने विश्वास छ।

प्रकाशित: १५ पुस २०७६ ०८:१२ मंगलबार

पुसे_पन्ध्र उत्तराईन