समाज

कर्णाली प्रतिष्ठानमा यसै वर्षदेखी एमबीबीएस सुरु गर्ने सिनेट बैठकको निर्णय

बालुवाटारमा बसेको कर्णाली स्वास्थ्य प्रतिष्ठानको सिनेट बैठकः नागरिक

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालु आर्थिक बर्षबाटै एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ।

यसअघि एमडिजीपी कार्यक्रम सञ्चालनको अनुमति पाइसकेको कर्णाली प्रतिष्ठानले एमबीबीएस कार्यक्रम पनि सञ्चालन गर्ने भएको हो। यो संगै कर्णालीमा एमबीबीएस डाक्टर उत्पादन हुने भएका हुन्। 

बालुवाटारमा सम्पन्न कर्णाली प्रतिष्ठानको सिनेट बैठकले कर्णालीको स्वास्थ्य क्षेत्रमा कायपलट ल्याउने खालको निर्णय गरेको रजिष्ट्रार विश्वराज काफ्ले बताउँछन्। 

बैठकमा १३ वटा प्रस्तावमा केन्द्रित रहेर छलफल गरिएको थियो। सबै प्रस्ताव पारित भएको कर्णाली स्वास्थ्य प्रतिष्ठानले जनाएको छ। कर्णाली प्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायतका कार्यक्रम सञ्चालन गर्ने गर्ने समेत सिनेट बैठकले निर्णय गरेको छ।  स्नातकोत्तरमा इपिडिमियोलोजि, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको रजिष्टार काफ्ले बताउँछन्। 

बैठकले प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्रा.डा. गणेश गुरुङलाई नियुक्त गरेको छ।  सदस्यमा डा. तरुण पौैडेललाइ नियुक्त गर्ने निर्णय भएको छ। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज  काफ्ले छनौट समितिका सदस्य सचिव रहने व्यवस्था छ। ६ अर्बको कर्णाली प्रतिष्ठानको पाँच वर्षे बहुबर्षिय गुरुयोजना समेत पारित गरेको हो। रजिष्ट्रार काफ्लेका अनुसार चालु आर्थिक वर्षका लागि ६९ करोड रुपैयाँ बराबरको बजेट छ। 

बैठकमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकलपति डा. राजेन्द्र वाग्लेलगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थित थिए। सिनेट बैठकले कर्णाली स्वास्थ्य प्रतिष्ठानको आर्थिक बर्ष २०७४/०७५ र २०७५/०७६ को महालेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। आर्थिक बर्ष २०७६/०७७ को बजेट पारीत गर्नुका साथै छिमेकी जिल्लामा स्वास्थ्य सेवा दिनुका साथै प्रतिष्ठानको सांगठनिक संरचना र दरबन्दी तेरिज पारित भएको छ। 

कर्णालीको स्वास्थ्य समस्याका बारेमा प्रतिष्ठानका कुलपनि प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक देखिएका छन्। बैठकमा कर्णालीलाइ विशेष प्राथमिकता दिनु पर्नेमा एकमम एक मत देखिएको थियो। बैठक निकै उपलब्धि मुलक रहेको कर्णाली प्रतिष्ठानले जनाएको छ। यो बैठकलाई कर्णालीको स्वास्थ्य क्षेत्रको कोसेढुंगाका रुपमा हेरिएको छ।

यसअघि बस्ने भनिएको कर्णाली प्रदेशको सिनेट बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रदा स्थगन भएको थियो । प्रतिष्ठानको अघिल्लो दिनमा कर्णालीको स्वास्थ्य संभावना, चुनौति र समस्याका बारेमा प्रधानमन्त्री ओलीलाइ ब्रिफिङ गरिसकिएको थियो। 

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कर्णालीको स्वास्थ्य शिक्षाका क्षेत्रमा सरकार गम्भीर भएको बताएका थिए। उनले कर्णालीको स्वास्थ्य अवस्था सुधार्नको लागि मन्त्रालयबाट हरबखत सहयोग गर्ने बताए। सिनेट बैठकले एमबीबीएस कार्यक्रम सञ्चालन गरे संगै स्वास्थ्य क्षेत्रको गुणस्तरीय जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा कर्णाली स्थापित हुने जानकारहरु बताउँछन्। 
 

प्रकाशित: १४ पुस २०७६ ०८:४८ सोमबार

कर्णाली_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान एमबीबीएस