समाज

राउटेलाई न्यानो कपडा वितरण

न्यानो कपडा र पोषिलो खानेकुरा लिन आएका राउटे समुदाय । तस्बिर: नागरिक

वीरेन्द्रनगर- घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई न्यानो कपडासँगै पोषिलो खानेकुरा वितरण गरिएको छ। पछिल्लो समय अत्यधिक चिसो बढ्दै गएपछि उनीहरू न्यानो कपडा र पोषिलो खानेकुरा वितरण गरिएको हो।

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले करिब साढे चार लाख बराबरको सामग्री राउटे बस्तीमै पुगेर वितरण गरिएको छ। उक्त सामग्री पाएपछि राउटे समुदाय खुसी भएका छन्। ‘न्यानो कपडा नहुँदा चिसो हुने गरेको छ,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘वितरण गरिएको सामाग्रीले न्यानो हुनेछ।’ ‘सानो झुपडीमा बसेका हाम्रो चिसो छल्न एकसरो कपडाबाहेक अरु छैन,’राउटे चित्रबहादुर शाहीले भने, ‘चिसो छल्न यसले धेरै सहयोग गर्नेछ।’

सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले राउटे समुदायको संरक्षण र जीवन रक्षामा लागि सबै तह जिम्मेवार हुनुपर्ने बताइन्। ‘अहिले यो समुदाय मादक पदार्थ सेवन गरेर विकृतिमा फस्दैछ,’ उनले भनिन्, ‘यो तल नछुटाएर भोलि राउटे समुदाय संकटमा पर्न सक्छ।’

सरकारले राउटे समुदायको गणनासमेत नगरेको उनको गुनासो छ। उनीहरूलाई जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घ्यू, सागलगायतका सामाग्री सहयोग गरिएको हो।

 

प्रकाशित: १२ पुस २०७६ १३:५० शनिबार

राउटे न्यानो_कपडा