समाज

विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर- विप्लव समूहका मोरङ इन्चार्ज सुन्दर हरैंचा–१ का नरेश चौलागाई  पक्राउ परेका छन्। चौलागाईलाई शुक्रबार साँझ मोरङको कसेनीस्थित सोमबारेबाट पक्राउ गरिएको हो।

चौलागाईसँगै अर्का कार्यकर्ता विराटनगर– ८ का क्षितिज पौडेल पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए। अधिकारीका अनुसार विगत एक महिनादेखि खोजी गर्दै आएको प्रहरीले शुक्रबार उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो।

पक्राउ परेका विप्लव समूहका कार्यकर्ताको साथबाट एउटा पेस्तोल र गोलिसमेत बरामद भएको अधिकारीले जानकारी दिए। यस्तै मोरङमै विप्लव समूहका चार जनाले आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेहरूमा विराटनगर—३ का नवराज नेपाल, पथरी– २ का  दिपक आचार्य, मोरङ मिक्लाजुङका जगतबहादुर पुलामी र मिक्लाजुङकै गोविन्द कार्की रहेका छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको मोरङ प्रहरीले जनाएको छ।

 

प्रकाशित: १२ पुस २०७६ १३:०३ शनिबार

विप्लव इन्चार्ज