समाज

कर्णाली प्रतिष्ठानको रेक्टरमा डा. थापा नियुक्त

डा. निरेश थापा । तस्बिरः नागरिक

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जम्लाको रेक्टर (शिक्षाध्यक्ष)मा एसोसियट प्रोफेसर डा.निरेश थापा नियुक्त भएका छन्। गत जेठ महिनाको २५ गतेदेखि कर्णाली प्रतिष्ठान रेक्टरविहीन थियो। तत्कालिन रेक्टर धर्मराज श्रेष्ठको कार्यवधि सकिएपछि झण्डै सात महिनासम्म रेक्टर नियुक्त हुन सकेको थिएन। कर्णाली प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले स्वास्थ्यमन्त्री उपेन्द्र यादव हुँदा तीन जनाको नाम सिफारिस गरेका थिए। तर स्वास्थ्यमन्त्री यादवको मन्त्रालय परिवर्तनसंगै त्यो सिफारिस पनि अलपत्र बन्यो।

स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकाल नियुक्त भए। त्योसंगै फेरि तीन जनाको नाम रेक्टरमा सिफारिस भयो। जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयमा कार्यरत डा. निरेश थापाको नाम पहिलो नम्बरमा थियो। यो संगै डा. थापा रेक्टरमा नियुक्त हुने संभावना बढि  नै थियो। डा. थापा लामो समयसम्म कर्णालीमा बसेकोले कर्णालीको स्वास्थ्य अवस्था राम्ररी बुझेका थिए। उपकुलपति वाग्लले सिफारिस गरेकोमा दोस्रोमा प्रा.डा.भरतमणि पोखरेल र तेस्रोमा प्रा.डा.बद्री बडु नाम सिफारिस भएको थियो। कर्णाली प्रतिष्ठानका लागि रेक्टरका योग्य उम्मेदवार डा. थापा नै थिए।

‘प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष  रेक्टर नियुक्तीका लागि सिफारिस भएकोमा विहिवार डा. थापालाइ रेक्टरमा नियुक्त गरिएको हो।
चिकित्सा क्षेत्रमा ठूला तथा साना सयौँ शल्यक्रिया गरी कर्णालीको भयावह स्वास्थ्य अवस्थामा सुधार ल्याएर कर्णालीबासीको मन जितेका डा. थापालाई रेक्टर नियुक्त गरिएकोमा कर्णालीबासी उत्साहित छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीको भूगोल र यहाँका नागरिकहरुलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेका डा. थापा रेक्टरमा नियुक्त हुँदा सहज भएको प्रतिक्रिया दिए। “यो पदका लागि उर्जाशील, मेहनती, लगनशील व्यक्तिको आवश्यकता हुन्थ्यो, रजिष्ट्रार काफ्लेले भने, ‘अब संस्थालाई पनि हित भएको छ, प्रतिष्ठानले पनि योग्य रेक्टर पाएको छ।’ डा. थापा कर्णालीका जनता,जनप्रतिनिधि र समग्र कर्णालीबासीको मनमुटुमा बस्न सफल चिकित्सकसमेत हुन्।

सैनामैना ६ रुपन्देही निवासी ४० वर्षीय डा.निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुन्। उनले सन् (२०१५–२०१९) चीनको ह्ुवान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गरेका छन्। विसं.२०७१÷०७२ सालदेखि डा.थापा प्रतिष्ठानमा कार्यरत छन्। प्रतिष्ठानमा रहँदा उनले बिरामीलाई गर्ने व्यवहारले गर्दा कर्णालीबासीका रोजाइका डाक्टर बन्न सफल भए।

यस्तै अन्तराष्ट्रियस्तरको विएमसि ईन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित लेख अनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाईरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढी हुने गरेको देखिन्छ। अत्यन्तै महंगो मानिने एचपिभि जाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धानको क्रममा सम्भव गरिएको उनी बताउँछन्।
 

 

 

प्रकाशित: १० पुस २०७६ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App