समाज

काठमाडौँ उपत्यकामा वर्षकै चिसो

काठमाडौं- काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ।

उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ। यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो।

यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो। मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,” उनले भनिन्।

मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ। पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ। चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६.५, धनकुटा ६.५ र ओखलढुङ्गाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ।

प्रकाशित: ९ पुस २०७६ १०:१७ बुधबार

काठमाडौँ चिसो