समाज

महाकालीको कटानले भित्रि मधेशका बस्तीहरु जोखिममा

महाकाली नदीले कटान गरेको परशुराम नगरपालिका–६ साँदनी क्षेत्र ।

डडेल्धुरा- नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रि मधेश जोगबुढाका बस्तीहरु उच्च जोखिममा छन्। महाकाली नदीका साथै अन्य नदी र खोलाहरुको कटानका कारण भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिका–६ का बस्तीहरु वर्षेनी उच्च जोखिममा पर्ने गरेका हुन्।

वर्षेनी बर्षातका बेला नदी कटानका कारण बडा नं. ६ का बस्तीहरु मानवविहीन बन्न थालेका हुन्। वडा नं. ६ का अधिकांश बस्तीसँगै महाकाली नदीको कटानका कारण वडा नं. ५ स्थित महाकाली नदीको तटमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल परशुरामधाम कै अस्तित्व संकटमा पर्न थालेको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले बताए।

परशुरामधामदेखि वडा नम्बर ५ र ६ का सबै बस्तीहरुमा गुरु योजनासहित तटबन्ध निर्माण गर्न डीपीआर समेत निर्माण गरेर संघीय सरकारलाई आग्रह गरिएको उनले बताए।

महाकाली नदीको तटीय क्षेत्रमा रहेका परशुराम नगरपालिका–५ परिगाँउसहित वडा नं. ६ का पटरेनी, ठण्डाजाला, सरगौडा, सिमलखेत, कुडा, छेला, तातापानी, बण्ड, सिसझाला, भौरकुण्डा, खालीगडा र कराली गाउँहरु नदी कटानको उच्च जोखिममा रहेको परशुराम नगरपालिकाले जनाएको छ।

वडा नं. ६ का अधिकांश बस्तीहरुमा नदी कटानका कारण आधा भन्दा बढि भूभाग बगरमा परिणत भईसकेपछि आधा जनसंख्या पनि  विस्थापित भईसकेको वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिँहले बताए।

महाकाली नदीका साथै महाकालीमा मिसिने अन्य नदी र खोलासँगै चुरे क्षेत्रबाट निस्कने खहरे खोलाका कारण बस्तीहरुमा कटान हुने गरेको छ। रुडुक डडेल्धुराद्वारा कार्यान्वयन भईरहेको दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) तटीय क्षेत्रमा जोखिम न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गरिरहेको छ भने बर्खायाममा महाकाली नदीमा आउने बाढीबाट जोगाउन पूर्व सूचना प्रणाली समेत व्यवस्थित गरिएको ट्रोसा परियोजनाका कार्यक्रम अधिकृत अमर साँउदले बताए।

 

 

प्रकाशित: ९ पुस २०७६ ०९:२६ बुधबार

महाकाली कटान बस्ती जोखिम