रामेछाप – दोरम्बा गाउँपालिकाले गर्भवतीलाई अन्डा वितरण गर्न थालेको छ। गाउँपालिकाको वडा नं ३ टोकरपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराएका १२ जना गर्भवतीलाई अन्डा वितरण गरिएको हो। आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य राम्रो होस् भन्ने भनेर अन्डा वितरण अभियान चलाएको वडाध्यक्ष लाल बदन थापामगरले बताए। गाउँपालिकाले गर्भवती र सुत्केरी महिलालाई नियमित रुपमा स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै यो अभियान चलाएको थापामगरले बताए।
दोरम्बा गाउँपालिकाको कार्यक्रमअन्तर्गत आमा सुरक्षा कार्यक्रमका लागी पहिलोपटकको गर्भ जाँचको बेला सरसफाइ बाकस (दाँत माझ्ने ब्रस , टुथपेस्ट, साबुन), गर्भवती चिह्नअंकित झन्डा र गर्भावस्थामा खानुपर्ने क्याल्सियम चक्की तथा चौथोपटकको गर्भ जाँचका बेला एक क्यारेट अन्डा वितरण कार्यक्रमको सुरू गरिएको हो। यस अभियानबाट गर्भ जाँच गराउने र सुरक्षित प्रसूतिका लागी स्वास्थ्य संस्थामा आउन प्रोत्साहन मिल्ने विश्वास गाउँपालिकाको छ। गाउँपालिकाले गाउँपालिकाभरि नै यो अभियान चलाउने योजना बनाएको छ।
प्रकाशित: ९ पुस २०७६ ०२:१० बुधबार