समाज

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

खोटाङ – एेंसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ। सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो। एम्बुलेन्समार्फत गर्भवतीलाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्मेपछि घरसम्मै ल्याइपु-याउने व्यवस्था मिलाएपछि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनेको संख्या बढेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

स्थानीय स्वास्थ्य चौकी वा बर्थिङ सेन्टरमा सुत्केरी गराउन असम्भव भएको अवस्थामा गर्भवतीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्कमा पु-याउने गरिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरका बीचमा ५१ गर्भवतीलाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा पु-याएर सुत्केरी गराइएको गाउँपालिकाको तथ्यांक छ। एेंसेलुखर्क–७ माक्पा, वडा १ राखाबाँदेल र वडा ६ ज्यामिरेमा बर्थिङ सेन्टर छन्। ती बर्थिङ सेन्टर र स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेका गर्भवतीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउने गरिएको छ। सुत्केरी महिला र शिशुको जीवनरक्षाका लागि गाउँपालिकाले २०७४ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। ‘गाउँकै स्वास्थ्यचौकी वा बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको अवस्थामा खबर आए गाउँपालिकाबाट एम्बुलेन्स पठाउने व्यवस्था गरिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘निःशुल्क एम्बुलेन्स सेवा पाएपछि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने आमाको संख्या बढेको पाएका छौं। स्वास्थ्यकर्मीले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या बढेको तथ्यांक पेस गर्ने गरेको छ।’

अस्पताल जान हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयासस्वरूप खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते खोटाङलाई एकैसाथ सातवटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो। त्यसमध्ये ऐंसेलुखर्क क्षेत्रका लागि उपलब्ध गराइएको एम्बुलेन्सलाई गाउँपालिकाले जिम्मा लिएर सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्कमा सोलुखुम्बुको लोखिम र जुवुका महिलासमेत सुत्केरी गराउन आउने गरेका छन्।

गर्भ जाँच गर्न ग्रामीण अल्ट्रासाउन्ड
खोटाङको खोटेहाङ गाउँपालिकाले गाउँमै गर्भजाँच गर्ने व्यवस्थाका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालनमा ल्याएको छ। गर्भमा रहेको बच्चाको अवस्था जाँच गरेर गर्भवतीलाई पूर्वजानकारी दिन गाउँपालिकाले वनहर्ट वल्र्डवाइडको सहयोगमा सुरक्षित मातृत्वका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

सुरक्षित मातृत्वका लागि गत चैतदेखि ९ वडाका स्वास्थ्यचौकीबाट युएसजी मेसिन प्रयोग गरेर गर्भवतीको गर्भ जाँच गर्ने व्यवस्था मिलाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। आफ्नै वडाको स्वास्थ्य चौकीमा गर्भ जाँच गर्ने घुम्ती सेवा सञ्चालन भएपछि गर्भजाँचका लागि जिल्ला अस्पताल दिक्तेल वा उदयपुरको गाईघाट पुग्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्। सुरक्षित मातृत्वका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य चौकी बड्कादियालेकी अनमी रमिता घलानलाई गर्भजाँच गर्ने घुम्ती सेवामा खटाएको थियो।

तालिम प्राप्त अनमी घलानमार्फत हरेक महिना गाउँपालिकाका कम्तीमा तीनवटा स्वास्थ्य चौकीमा पुगेर युएसजी मेसिनको सहारामा गर्भजाँच गर्नेगरी ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदु बस्नेतले बताए। ‘अल्ट्रासाउन्डबाट गर्भको बच्चाको अवस्था कस्तो छ, बच्चा कसरी बसेको छ भन्ने पत्ता लगाउन सकिन्छ,’ स्वास्थ्य शाखा संयोजक बस्नेतले भने, ‘यदि बच्चा उल्टो बसेको छ र जोखिम छ भन्ने देखिए अन्यत्र रेफर गर्न ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गरिएको हो।’

गाउँकै स्वास्थ्य चौकीमा गर्भजाँच गर्ने अल्ट्रासाउन्ड कार्यक्रम सुरु भएपछि गाउँपालिकाका गर्भवती लाभान्वित भएका छन्। गर्भजाँचका लागि गाउँपालिकाका गर्भवती दिक्तेल वा गाईघाट पुग्न बाध्य थिए। केही समयअघि अनमी घलान समायोजनका क्रममा सिन्धुपाल्चोक सरुवा भएपछि भने सुरक्षित मातृत्वका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम प्रभावित भएको स्वास्थ्य शाखा संयोजक बस्नेतले बताए। अनमी घलानले युएसजी मेसिन साथैमा बोकेर तोकिएको समयमा तोकिएको स्वास्थ्य चौकीमा गएर गर्भवतीको गर्भजाँच गर्दै आएकी थिइन्।

तालिम प्राप्त स्वास्थ्यकर्मी अन्यत्र सरुवा गएपछि वनहर्ट वल्र्डवाइडले उपलव्ध गराएको युएसजी मेसिन हाल स्वास्थ्य चौकी बड्का दियालेमा थन्किएको छ। सुरक्षित मातृत्वका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई निरन्तरता दिन वनहर्ट वल्डवाईड आग्रह गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम प्रभावकारी देखिएको छ। यसलाई निरन्तरता दिन पुनः स्वास्थ्यकर्मीलाई तालिम दिन वनहर्ट वल्डवाइडसँग कुरा राखेका छौं,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तालिम प्राप्त स्वास्थ्यकर्मी भएपछि पुनः गर्भजाँच गर्ने घुम्ती सेवाले निरन्तरता पाउनेछ।’

सिकिस्त सुत्केरीको उद्धार
बच्चा जन्माइसकेपछि अधिक रक्तश्राव र उच्च रक्तचापका कारण सिकिस्त भएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ) लाई हवाई उद्धार गरिएको छ। महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनको उद्धार गरिएको हो।

जिल्ला अस्पताल खोटाङमा शनिबार बेलुका शल्यक्रियामार्फत स्वस्थ बच्चा जन्माएकी श्रेष्ठलाई थप उपचारका लागि आइतबार रेफर गरिएको सो अस्पतालका निमित्त प्रमुख रोशन ग्वाँछाले बताए। बिरामीको अवस्था नाजुक भएकाले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा हेलिकोप्टर झिकाएर सुत्केरीलाई उप उपचारका लागि काठमाडौं लगिएको हो। उनलाई प्रसूतिगृह थापाथली पु¥याइएको छ। नवजात शिशुको अवस्था सामान्य रहेको छ। शल्यक्रियापछि रगत अभाव हुँदा उनलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले समेत रक्तदान गरेका थिए। दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यसअघि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विक र खोटेहाङ गाउँपालिका–३ सावा कटहरेकी विममाया विकको उद्धार गरिएको थियो।

प्रकाशित: ९ पुस २०७६ ०२:०१ बुधबार

स्वास्थ्य_संस्था सुत्केरी