समाज

सिफारिस कार्यान्वयन नगर्ने प्रमुखलाई नै कारबाही हुने

काठमाडौं – राष्ट्रिय सर्तकता केन्द्रले सिफारिस कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई नै कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ। कारबाही सिफारिस गरेका कर्मचारीलाई कारबाही गर्न कार्यालय प्रमुखले नै आनाकानी गरेपछि केन्द्रले प्रमुखलाई नै कारबाही सिफारिस गर्ने तयारी गरेको हो।

केन्द्रले साउन १ गतेदेखि मंसिर मसान्तसम्म विभिन्न कार्यालयमा गरेको अनुगमनमा १ हजार ७ सय ६० कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको थियो। जसमा अनुपस्थित भएको अथवा समय पालना नगरेको, तोकिएको पोशाक नलगाएको, विदा स्विकृत नगराई विदा बसेको लगायतका छन्। आयोगले ति कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको थियो। तर तीमध्ये ५ सय २४ जनालाई मात्रै कारबाही भएपछि कारबाही सिफारिस कार्यान्वयन नगर्ने प्रमुखलाई नै कारबाही गर्ने सिफारिस गरेको केन्द्रका एक अधिकारीले बताए। ‘विभिन्न १ सय ६७ निकायमा कार्यरत १ हजार ७ सय ६० जना कर्मचारी सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्रै कारबाही भएको पाइयो,’ केन्द्रका एक अधिकारीले भने ‘अब कारबाही सिफारिस कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई नै कारबाही सिफारिस गर्ने तयारी गरिरहेका छौं।’

उपत्यकाका स्थानीय तहका २ सय २८ अनुशासन उल्लंघनमा
केन्द्रले सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा गरेको अनुगमनमा २ सय २८ कर्मचारीले अनुशासन उल्लंघन गरेको भटिएको छ। केन्द्रले नागार्जुन, कीर्तिपुर, सूर्यविनायक, मध्यपुर थिमि, तारकेश्वर, बूढानीलकण्ठ, शंकरापुर नगरपालिका र ललितपुर महानगरपालिकामा गरेको छड्केमा २ सय २८ कर्मचारीले अनुशासन उल्लंघन गरेको भेटिएको हो। जसमध्ये १ सय ६९ जना कार्यालय समयमा अनुपस्थित भएको, १८ जना अघिल्लो मितिमा विदा स्वीकृत नगराई अनुपस्थित भएको र ४१ जनाले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए।

प्रकाशित: ९ पुस २०७६ ०१:५४ बुधबार

राष्ट्रिय_सर्तकता_केन्द्र