समाज

दैनिक हजारजना अस्पतालमा

काठमाडाै। फाइल तस्बिर: नागरिक

काठमाडौं – बढ्दो चिसोले उत्पन्न स्वास्थ्य समस्याका कारण राजधानीका मुख्य अस्पताल बिरामीले भरिएका छन्। राजधानीका पाँच मुख्य अस्पतालमा मात्रै चिसोले प्रभावित बिरामी दैनिक सात सयको हाराहारीमा पुग्ने गरेका छन्। अस्पतालका आइसियु तथा मेडिकल वार्ड चिसोका बिरामीले भरिएको चिकित्सकले जनाएका छन्।

‘अरु बेला ओपिडीबाटै औषधि दिएर पठाउने स्थितिका बिरामी आउँथे। अहिले भने धेरैलाई भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था छ’, वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेले भने। ‘अस्पतालको आकस्मिक कक्ष दम र आस्थामाका बिरामीले भरिभराउ छ’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका छातीरोग विशेषज्ञ डा. निरज बमले भने।

शिक्षण अस्पताल र सिभिल अस्पतालको मेडिसिन विभागमा दैनिक उपचारमा पुगेका मध्ये ७० प्रतिशत चिसोका बिरामी छन्। शिक्षणको मेडिसिन विभागमा दैनिक दुई सय बिरामी उपचारका लागि पुग्छन् भने सिभिलमा औसत दैनिक चार सयजना पुग्ने गरेका छन्। दैनिक दुई सयजना पुग्ने वीर अस्पतालको मेडिसिन विभागमा ४० प्रतिशत बिरामी चिसोबाट प्रभावित हुने गरेका छन्। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चाबहिलमा पुग्ने औसत दैनिक चार सय बिरामीमध्ये ५० प्रतिशत चिसोबाट प्रभावित हुने गरेको त्यहाँ कार्यरत चिकित्सकले जनाएका छन्।

चिसो बढेसँगै यसबाट प्रभावित बिरामी कुल बिरामीमध्ये २० प्रतिशतले बढेर ६० प्रतिशत पुगेको पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले जनाएको छ। अस्पतालको मेडिसिन विभाग प्रमुख डा. युवराज शर्माका अनुसार गत महिना उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये धेरैजसो चिसोबाट प्रभावित थिए। विभागमा दैनिक औसातमा एक सय ५० जना बिरामी आउने गरेकोमा ९० जना चिसोबाट प्रभावित देखिएको विभागले जनाएको छ।

वृद्धहरुमा दमले श्वास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने र बालबालिकामा रोटाभाइरल पखाला, निमोनियालगायतका समस्याले जटिल रुप लिइरहेको छ। चिसोको कारण भाइरलबाट सुरु भएको संक्रमणको समयमै उपचार नहुँदा निमोनियाको रुप लिएर सकस झेलिरहेका बिरामीको संख्या उल्लेख्य छ।

त्यस्तै कान्ति बाल अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत चिसोबाट प्रभावित हुने गरेको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक औसत चार सय बिरामी उपचारका लागि पुग्छन्। अस्पतालको आइसियुसमेत दम र निमोनियाका बिरामीले भरिएको अस्पतालले जनाएको छ।

चिसोका कारण रुघाखोकी, दम, आस्थामा, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो), निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन्। चिसोको कारण बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दम र आस्थामाका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सकले औंल्याएका छन्। ‘वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको देखिन्छ’, डा. बमले भने। ‘दमका पुराना रोगी, दैनिक बिहानै कलेज निस्कने विद्यार्थी बढी प्रभावित भएका छन्’, वीरका डा. गैरेले भने। विद्यार्थीमा पनि सफाइप्रति बढी सचेत हुने र हल्का पोसाक लगाउने छात्रा बढी प्रभावित देखिएको उनको अनुभव छ।

चिसोले एक वर्षमुनिका बालबालिका बढी प्रभावित भइरहेको कान्ति अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. आरपी बिच्छाले भने, ‘निमोनिया र रोटाभाइरसका बिरामी बढी छन्।’ चिसोमा तापक्रम घटबढ हुँदा भाइरस सक्रिय हुने कारण बढी मात्रामा रुघाखोकी लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनको तर्क छ। गत वर्षभन्दा यो वर्ष चिसो बढेको र काठमाडौंमा प्रदुषण कायमै हुँदा पनि समस्या बढेको पाटन अस्पतालका डा. शर्मा बताउँछन्। ‘चिसो बढ्दै जाँदा रोग थप बढ््ने देखिन्छ’, उनले भने। चिसो मौसममा हेलचक्र्याइँ गर्दा सिओपिडी, आस्थामा तथा एलर्जीका रोगी बढी प्रभावित बनेको डा. गैरेले बताए। ‘बिहानै घरबाहिर निस्कने र न्यानो लुगा नलगाउनेहरु बढी प्रभावित देखिन्छन्’, उनले भने।

चिसोबाट बचाउन वृद्धवृद्धा र बालबालिकालाई विशेष हेरचाह गर्न चिकित्सकले सुझाएका छन्। वृद्धहरुमा दमले श्वास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने र बालबालिकामा रोटाभाइरल पखाला, निमोनियालगायतका समस्याले जटिल रुप लिइरहेको छ। चिसोको कारण भाइरलबाट सुरु भएको संक्रमणको समयमै उपचार नहुँदा निमोनियाको रुप लिएर सकस झेलिरहेका बिरामीको संख्या उल्लेख्य छ। चिकित्सकका अनुसार ज्वरो आउने, खकारको रङ परिवर्तन हुने, खोकी लाग्ने, खकारमा रगत देखिने, स्वाँस्वाँ हुने निमोनियाका लक्षण हुन्। त्यसैगरी बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, ज्वरो आउने भाइरल इन्सेफ्लाइटिसका लक्षण हुन्। खोकी लागिरहने, छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने आस्थामाका लक्षण हुन्। परीक्षण गर्दा कीटाणु नदेखिने तर पखाला लागिरहने भाइरल डायरियाको लक्षण हो।

संक्रमणलाई निमोनियासम्म पुग्न नदिन जोखिम समूहका बिरामीले नियमित औषधि सेवन गर्ने, मधुमेह तथा उच्च रक्तचापका बिरामीले पनि नियमित औषधि सेवन गरी समस्या नियन्त्रणमा राखेमा चिसोको रोगबाट बच्न सकिन्छ। कालो चिया, दाल तथा दुध, सागसब्जीको झोल प्रशस्त पिउने, घरभित्र बस्दा न्यानो भएर बस्ने, बाहिर निस्कनुपरेमा घाम लागेपछि मात्र निस्कने, न्यानो पार्न धुवाँ निस्कने गरी आगो नताप्ने, ताप्नुपरेमा घरबाहिर ताप्ने, सकेसम्म विद्युतीय हिटर प्रयोग गर्ने, घरभित्र हिटर बाल्दा गुम्म पारेर नबाल्ने गरेमा चिसोका रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

दम, रुघाखोकी, निमोनिया, आस्थामालगायत कुनै पनि रोगको लक्षण देखिएमा समयमै उपचारमा पुग्ने, दीर्घरोगीले औषधि नियमित सेवन गर्ने सुझाव पनि चिकित्सकले दिएका छन्।

प्रकाशित: ९ पुस २०७६ ००:५४ बुधबार

उपत्यका चिसो