समाज

ओखलढुंगामा तीन दिनमा तीन व्यक्तिको शव फेला

ओखलढुंगा- तीन दिनको अवधिमा ओखलढुंगाको विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मंगलबार विहान जिल्लाको सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा काठमाडौ पेप्सीकोलाका करिब ४५ वर्षिय विष्णु खत्रि मृत अस्थामा फेला परेका छन्। अण्डाको व्यापार गर्न आएका खत्रिको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अत्याधिक मादक पदार्थ सेवन तथा चिसोका कारण उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। सोमबार साँझ सोलुखुम्बुबाट कुखुराको अण्डा बिक्री गरेर आफ्नै गाडिमा काठमाडौँ फर्कने क्रममा ओखलढुंगाको बिप्लाटेस्थित एक घरमा बास बसेका थिए। बास बसेको घरमा बेलुका केही नखाई सुतेका खत्रिलाई विहान बोलाउदा नबोलेपछी ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको घरधनी श्यामकुमार श्रेष्ठले बताएका छन्।

त्यसैगरी खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीमा आईतबार एक जना युवकको शव फेला परेको थिए। खिजिदेम्बा गाउँपालिका–३ का २६ वर्षीय राजु सुनुवारको शव खिजिकातीको सिमलीडाडामा फेला परेको थियो। सुनुवारलाई मृत अवस्थामा स्थानीयले फेलापारेपछी तत्काल प्रहरीलाई खबर गरेका थिए। काठमाडौबाट घर फर्कने क्रममा उनको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए।

यस्तै, सोमबार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको लिखुनदी किनारमा पर्ने भित्ता खर्कमा रामेछापका एक व्यक्ति मृत फेला परेका थिए। रामेछापको उमाकुण्ड गाउँपालिका–४ का लिलबहादुर खुलाल मृत भेटिएका हुन्। गत मंसिर १८ गते आफ्नै घरबाट बेपत्ता भएका खुलालको शव लिखुनदी किनारमा भेटिएको थियो।  

एक्कासी घरबाट हिडेका खुलालको शव खाजतलासका क्रममा आफन्तले भेट्टाएका हुन्। तीनवटै घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जनाएका छन्।

 

प्रकाशित: ८ पुस २०७६ ०९:४७ मंगलबार

ओखलढुंगा दिन शव