समाज

खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन

बुटवलको क्रिमसन अस्पतालमा उपचारत पूजा सोमै र उनका बुवा लालबहादुर। तस्बिर : विनोद/नागरिक

रुपन्देही – पाल्पा रामपुरकी १८ वर्षीया पूजा सोमै (ठगिसरा) रुपन्देहीको क्रिमसन अस्पतालमा अर्धचेत अवस्थामा छिन्। छेउमै उभिएका छन् उनका बुवा ५६ वर्षीय लालबहादुर परियार। पति भोमे सोमैको कुटपिटबाट पूजाको टाउको फुटेको छ। दायाँतर्फको हर चल्दैन। असोज २९ गते क्रिमसन अस्पतालमा उनलाई भर्ना गरिएको हो।

अस्पतालका न्युरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको समेत शल्यक्रिया गरिसकेका छन्। चिकित्सकले डिस्चार्ज दिएको एक महिना भइसक्यो। तर पूजाको परिवारले अस्पतालको पैसा तिर्न नसकेपछि अस्पताल छाड्न सकेका छैनन्। अस्पताल प्रशासनले बिरामीलाई घर लैजान पटकपटक ताकेता गरेको छ तर उपचारखर्च अभावले बिन्ती बिसाउँदै उनीहरू अस्पतालमै बसिरहेका छन्। पैसा खोज्छौं भनेर अस्पतालले समय प्रशस्त दियो तर अब अस्पतालले बिरामी राख्न नसक्ने बताएको छ। ‘बिरामीलाई घर लैजानोस्, खोइ त पैसा तिरेको भनेर पटकपटक प्रशासनबाट खबर आएको छ, पैसा छैन यहीँ बसेको छु,’ पूजाका बुवा लालबहादुरले भने।

उनले अपरेसन र बेडचार्ज गरी सो अस्पताललाई करिब २ लाख रुपैयाँ तिर्नुपर्ने छ। गत असोज ८ गते पति भोमे सोमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुनेगरी कुटेका थिए। महिलाहिंसाको अभियोगमा भोमे हिरासतमा छन्। घरकाले पूजाको उपचारमा कुनै वास्ता गरेका छैनन्। माइतीले चन्दा संकलन गरी जसोतसो उपचार गराइरहेका छन्। तर, अब भने उपचारको रकम तिर्न नसकेर पूजाका बुवा लालबहादुर छटपटाइरहेका छन्। ‘पैसा नहुनेले बाँच्नु नै बेकार रहेछ,’ उनी भन्छन्, ‘गाउँपालिका, छरछिमेकीबाट संकलित सहयोगले औषधि खर्च गर्दा ठिक्क भयो। अब कोसँग माग्ने, कसले दिन्छ।’

गत असोज ८ गते पति भोमे सोमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुनेगरी कुटेका थिए। महिलाहिंसाको अभियोगमा भोमे हिरासतमा छन्। घरतिरकाले उनका उपचारमा वास्ता गरेका छैनन्। माइतीले चन्दा संकलन गरी जसोतसो उपचार गराइरहेका छन्।

मस्तिष्कमा ठूलो चोट लागेकाले पूजा तत्काल बोल्नसक्ने अवस्था छैनन्। पतिको कुटाइपछि अर्धचेत अवस्थामा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याइएको थियो। त्यहाँ असोज ९ देखि असोज २८ गतेसम्म उपचार भयो। निको नभएपछि असोज २९ देखि तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ। अढाई महिनादेखि छोरी बचाउन भन्दै लालबहादुर स्थानीय तहदेखि सरकारका विभिन्न निकाय धाए। तर उपचारका लागि अनपेक्षित रूपमा धेरै खर्च हुँदा परिवार पीडित भएका छन्। नेतादेखि सांसदसम्म पनि कुरा उनीहरूले पु¥याएका छन्। तर ठोस रूपमा भने कसैले सहयोग नगरेको पूजाका दाजू सुवास परियारले बताए। उनले प्रदेश–५ का सांसद तथा अधिकारकर्मीमाझ महिला हिंसाविरुद्धको १६ दिने अभियानकै क्रममा गुनासो राख्दा सहयोग पाउने आशा पाएका थिए। तर, अस्पतालमा तिर्ने पैसा भने कहीँबाट जोहो हुन सकेन। कतैबाट पनि सहयोग मिलेन। क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डे भने आफूहरू शतप्रतिशत सहुलियत गर्न नसक्ने बताउँछन्। उनले भने, ‘हामीले पनि अस्पताल चलाउनुपर्छ, केही छुट दिन सकिएला तर सबै गर्न सकिन्नँ।’

प्रकाशित: ८ पुस २०७६ ०३:१५ मंगलबार

खर्च_अभाव महिलाहिंसा उपचार