समाज

वीरगन्जमा नक्कली घ्यू बनाउने कारखाना फेला, संचालक सहित ३ पक्राउ

वीरगन्ज- वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाब्रह्म चोक नजिक संचालन गरिएको नक्कली घ्यू बनाउने कारखाना फेला पारे पछि त्यसका संचालक सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब परीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार बर्ष ३३ का अनिल श्रेष्ठले संचालन गरेको सिद्धि बिनायक पूजा सामाग्री प्रोडक्टस उधोगमा रसायन मिसावट गरी तयार पारिएको नक्कली घ्यू बिभिन्न ब्राण्डमा फेला परेको हो। पूजा,  दुर्गा र गोकुल शुद्ध घ्युको लेबल र स्टिकर लगाई नक्कली घ्यू उत्पादन तथा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचना प्रहरीलाई थियो।

आइतवार साँझ करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले सूचना अनुसारको अवस्था र सामान फेला पारेको थियो। प्रहरीले जनाए अनुसर उक्त स्थानमा १२ किलोको दरले पूजा, दुर्गा र गोकुल व्राण्डको ५२ कार्टुन घ्यू , डाल्डा घ्यू २० किलोको दरले २९ कार्टुन र पाम आयलबाट नक्कली घ्यू बनाउन प्रयोग हुने रसायन, मेशिन, भाडा कुडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न वाण्डको स्टिकरहरु लगायत बरामद गरेको छ।

उद्योगका संचालक अनिल श्रेष्ठ, बर्ष ३७ का रमेश श्रेष्ठ र भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया घर भएका बर्ष २५ को रामविलास यादवलाई नियन्त्रणलाई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ पुस २०७६ १२:३८ सोमबार

घ्यू अवैध_कारोवार पक्राउ