समाज

कंकाल भेटिने बगरमा खेती (फोटो फिचर)

पशुको सन्तुलित आहारसहितको टिएमआर ब्लक बनाउदै यादव ।

भैरहवा- द्वन्द्वकालमा गाडी लुकाउने, मान्छेका कंकाल भेटिने ठाउँको रुपमा रहेको दानव नदीको बगर क्षेत्र अहिले हरियाली उर्वरभूमिको रुपमा परिणत भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिका ३ स्थित हसनापुर कुट्टा नाकामा रहेको त्यो बगर क्षेत्र अहिले खेतीयोग्य उर्वरभूमि, आपको बगैचा र पोखरीको रुपमा देखिन्छ।

हसनापुर माविको ५८ विघा, गुरौली मावि सुद्धोधनको ११ विघा र देउराली सामुदायिक वनको ५ विघा गरी ७६ विघामा फैलिएको क्षेत्र भित्र अहिले आरम्भ एकिकृत कृषि फर्मले १२ लाख ७५ हजार रुपैयाँमा लिजमा लिई कृषिका योजनाहरु सञ्चालन गरेको छ।

२०६८ सालमा जग्गा लिजमा लिई कृषिको सुरुवात गरेको पशु प्रविधिक नारदमुनि यादवले कृषिमा लगानी गर्दै बगर जग्गालाई कृषि योग्य बनाएका छन्। दानव नदीको किनारमा रहेको सो जग्गा लिजमा लिई पहिलो वर्ष मास लगाइयो सोचे अनुसार प्रतिफल भएन, त्यसपछि क्रमशः उखु, मोम्फली, मेवा खेती गरि जग्गामा लाखौ लगानी गरि उर्वरभूमिको रुपमा परिणत भयो। २०६८ सालमा तरबुजाखेती गरी राष्ट्रपतिबाट उत्कृष्ठ कृषक पुरस्कारबाट पनि सम्मानित भए।

‘अहिले उक्त जग्गाको पानी जम्ने क्षेत्र २ हेक्टर (३ विघा) र वनको ५ विघा क्षेत्रमा माछा पालन भइरहेको छ। २ विघामा आपको बगैँचा, त्यस्तै ३५ विघामा गहुँ विज वृद्धिका लागि हिमाल सिड कम्पनि मार्फत गहुँ खेती भइरहेको भने ५ विघामा पशुपालनका लागि चरण क्षेत्र घाँस लगाइएको छ। कर्मचारीको काम हेर्न र दैनिक अवस्था हेर्न फर्ममै भ्यू टावर पनि बनाएका छन्। हालसम्म ५ करोड भन्दा बढी लगानी जग्गामा भइसकेको फर्मबाट वार्षिक २ देखि ३ करोडसम्मको कारोबार भइरहेकोे छ।’ फर्मका सञ्चालक दुर्गेशकुमार यादव भन्छन्।

'यसको अलावा हामीले ३५ वटा लोकल र मुर्रा जातको भैसी, करिब १०० वटा बाख्रा, ४०० वटा लोकल कुखुराहरु पनि पालेका छौ। त्यस्तै प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा पशुको सन्तुलित आहार बनाउने मेसिन (टिएमआर ब्लक) मेसिन पनि सञ्चालनमा ल्याएका छौ' सञ्चालक दुर्गेशले भने।
उनले ४५ लाख अनुदान र ५७ लाख फर्मको लगानीमा (टोटल मिक्सर रेट्रोन) टिएमआर ब्लक मेसिन जडान गरेका छौ, वार्षिक ३ हजार टन उत्पादन गर्ने लक्ष्य छ, अहिले स्थानिय स्तरमा खपत भइरहेको सुनाए।

अनुदानको मेसिन जडान गर्दा पनि मन्त्रालयका कर्मचारीले टर्चर दिएको उनले गुानासो गरे। कमिशन खानका लागि कहिले यो भएन कहिले यो भएन भनेर दैनिक टर्चर दिइरहेका थिए। यहाँसम्मकी ब्लक मेसिन सञ्चालनका लागि असारमा बजेट दिने साउनमै सञ्चालनमा ल्याउन नसकेको भन्दै गलत प्रचारसम्म गरे। मेसिन खरिद गरेपछि जडानका लागि पनि एक महिना लाग्छ। मुख्य कच्चा पदार्थ भुसा, पोसक तत्वहरु चैत्र वैशाखपछि मात्र पाइने थाँहा हुँदाहुँदै पनि किसानले साउनमा सञ्चालन गर्न नसकेको गलत प्रचार गरेको गुनासो गरे।

सञ्चालनका लागि प्रदेश सरकारका कर्मचारीले प्रविधिक सहयोग गर्नुको साटो उल्टै समस्या थाँहा हुँदाहुँदै पनि अनावश्यक टर्चर दिएकोले अनुदान फिर्ता गर्न सम्मको सोच बनाएको यादवले नागरिक न्यूजलाई बताए।

फर्मले नारद यादवका परिवार सहित अन्य ६ जनालाई पनि रोजागारी दिइएको छ। पछिल्लो समय यान्त्रीकरण र प्रविधिको प्रयोग गर्दै व्यवसायिक रुपमा काम गर्दा लगानी घटेको छ। तर बजारको समस्या भएकोले बजारीकरणका लागि राज्यले सहकार्य गर्नुपर्छ। त्यस्तै कृषक प्रोत्साहितका लागि  निति बनाउने, राजनितिक पहुँचको आधारमा भन्दा पनि उत्पादन र वास्तविक कृषकलाई अनुदान दिनुपर्ने, कर्मचारीहरुले वास्तविक किसान चिन्नु पर्ने सुझाव दिए।



                                                                                                       
 

उर्वरभूमि बगर खेती