समाज

गर्भवतीलाई अण्डा, शिशुलाई न्यानो कपडा

गर्भवतीलाई अण्डा वितरण गर्दै गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाही।

सुर्खेत- स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँचका साथै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहन गर्न कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले ‘पोषिलो नासो’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई चार पटकसम्म एक–एक क्यारेट अण्डा र सुत्केरीपछि शिशु र आमालाई न्यानो कपडा वितरण गर्नेछ।

‘अझै पनि घरमै सुत्केरी हुने र स्वास्थ्य संस्थासम्म नआउने प्रचलन गाउँपालिकामा छ,’ अध्यक्ष डम्वरबहादुर शाहीले भने, ‘त्यसैले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउन आउने र सुत्केरी हुने महिलाहरुका लागि ‘पोषिलो नासो’ कार्यक्रम सुरु गरेका हौं।’ उनले यो कार्यक्रमबाट नवजात शिशु कुपोषणमुक्त हुनुका साथै आमाको स्वास्थ्य पनि राम्रो हुने अपेक्षा गरे। गाउँपालिकाले सबै स्वास्थ्य संस्थाहरुबाट पोषिलो नासो कार्यक्रम सुरु गरेको हो।

गाउँपालिकाले चार पटकसम्म स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने, सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराउनु पर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने नियम लागू गरेको छ। अध्यक्ष शाहीले चौथो, छैठौं, आठौं र नवौं महिनामा गर्भ जाँच गर्न आउने महिलालाई अण्डा दिइने बताए।

बिहीबार वडा नं. ४, ५ र ६ का ५८ जना गर्भवतीलाई अण्डा वितरण गरिएको छ। ‘पोषिलो खानेकुरा नहुँदा जन्मेका धेरै शिशुहरुमा कुपोषण देखिन्छ, आमाको स्वास्थ्य पनि जोखिममा हुन्छ,’ उनले भने, ‘त्यसैले आमा र जन्मने बच्चाको स्वास्थ्यमा सुधार ल्याउनका लागि यो कार्यक्रम ल्याएका हौं।’

गाउँपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याएर गर्भ जाँच गराउन सहयोग पुर्‍याउने महिला स्वास्थ्य स्वम्यसेवीकाहरुलाई पनि प्रोत्साहन कार्यक्रम ल्याएको छ। ‘गाउँ–टोलका एउटा गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याएर स्वास्थ्य जाँच गराउन सहयोग गरेवापत महिला स्वास्थ्य स्वमय्सेवीकालाई पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सम्बन्धीत स्वास्थ्य संस्थाले गरेको सिफारिसका आधारमा महिला स्वास्थ्य स्वयम्सेवीकालाई त्यस्तो भत्ता उपलब्ध गराउँछौं।’


 

प्रकाशित: ५ पुस २०७६ ०९:३३ शनिबार

गर्भवती शिशु पोषिलो_नासो