समाज

पुल निर्माण अलपत्र, एक वर्षमा १० प्रतिशत काम

पुल निर्माणका लागि काम गरिदै।

धादिङ- एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र बनेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत वर्ष शिलान्यास गरिएको पुलको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेसनल जेभीले लिएको थियो। समयमा नै काम नगरिदिँदा पुल निर्माणको काम अलपत्र बनेको छ।

पुलका लागि ल्याइएको सामग्रीहरु यत्रतत्र छरिएको छ भने छड लगायतको सामग्री खिया लाग्न सुरु गरेको छ। पुल निर्माण स्थलको बेनिघाट रोराङ तर्फमा एउट पिल्लरको डिपिसी बाहेक कुनै काम हुन सकेको छैन। पुल निर्माण स्थलमा बेलाबेला १०÷१२ जना कामदार देखिएका थिए तर पछिल्लो समय कामदार नै नआउने गरेको स्थानीयको भनाई छ। पुल निर्माणका लागि घरीघरी डोजर चल्छ तर डिपीसी गरेको स्थानमा हिलो, लेउ र पानी मात्रै जम्ने गरेको स्थानीयले बताए।  

पक्की पुल नहुँदा भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक सामग्रीहरु लैजान समस्या भोगिरहेका छन् भने उत्पादित तरकारीहरु बजारसम्म ल्याउन कठिन भएको सिद्धलेकका स्थानीय पशुपतिनाथ थपलियाले बताए। ‘पक्कि पुल बन्ला र निर्माण सामाग्री ढुवानी गर्न सहज होला भन्ने लागेको थियो तर आशैआशमा परियो’, उनले भने, ‘बारीमा लगाइएको तरकारी बजारसम्म लैजान पनि घण्टौँ बोकेर लैजानुपर्ने अवस्था छ।’ त्रिशुली नदीमाथि पक्की पुल नहुँदा कालुपाण्डे मार्गको मलेखु हुँदै निर्माण सामग्री ओसार्नुपर्ने बाध्यता छ।

पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु माछा बजारको रुपमा परिचित छ। राजधानी काठमाडौँ आवातजावत गर्ने मुख्य सडक भएपनि छेवैमा निर्माण सुरु गरिएको पुलको कामले भने गति लिन सकेको छैन। वारि ठूलो बजार भएपनि पारि उत्पादित खाद्यन्न तथा तरकारी बजारसम्म ल्याउन समस्या भोग्दै आइरहेका छन्। सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने भनिएपनि यस्ता कम्पनीलाई सरकारले कारवाही अघि नबढाएको स्थानीयको भनाई छ।

स्थानीयहरु आवातजावतका लागि झोलुङगे पुलनै प्रयोग गर्छन्। निर्माण सामग्री लैजान, खाद्यन्न लगायतका अन्य बस्तुहरु ओसारपोसारका लागि कि मानिसले नै बोक्नुपर्छ कि सदरमुकाम जाने कालुपाण्डे मार्ग भएर करिब १५ किलोमिटर कच्ची सडकबाट सामाग्री ढुवानी गर्नुपर्ने हुन्छ। यसरी सामान ढुवानी गर्दा महङगो मूल्य तिर्नुपर्ने र धेरै समय खर्चनुपर्ने बाध्यता छ। पक्की पुल निर्माण पश्चात गाउँबाट बजारमा आवतजावत र उत्पादित तरकारीहरु बजारसम्म ल्याएर आम्दानी समेत गर्न सहज हुने स्थानीयको भनाई छ।

पुल निर्माणका विषयमा स्थानीयले चासो राख्दै निर्माण कम्पनीलाई सम्पर्क गर्दा सरकारी कामको गति नै यस्तै हो भन्ने जवाफ दिने गरेको सिद्धलेकका स्थानीय चेतनाथ सिलवालले बताए। ‘त्रिशुली नदीमाथि पुल बन्यो भने हामीलाई एकदमै सहज हुन्छ, त्यसैले हामीले पनि चासो राखेर पुल निर्माणको अवस्था बारे बुझ्ने गरेका छौँ,’ उनले भने, ‘दुई वर्षमा सक्नुपर्ने काम सुरु नै भएको छैन, कहिले पो बन्ने हो।’ गाउँगाउँमा सिंहदरवार भन्छन् तर कहिले सिंहदरवारको अधिकारी उपभोग गर्न नपाएको स्थानीयले गुनासो गरे।

पुल निर्माणको शिलान्यासमा ठेकेदार कम्पनी महाबिर नीलगिरी नेशनल जेशीका प्रतिनिधि युवराज डाँगीले निर्माणका क्रममा कुनै विवाद र अवरोध नआए दुई वषभित्र सक्ने प्रतिबद्धता गरेका थिए। काममा ढिलासुस्ती भएको स्विकार गर्दै ठेकेदार डाँगीले भने, ‘बर्षायाममा त्रिशुली नदीको बाहक बढ्ने भएका कारण काम गर्न सकिन्न, निर्माण सामग्री पनि बगाएको छ, अहिले धमाधम काम भइरहेको छ।’

सिद्धलेक गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रामहरी बराकोटीले पुल निर्माण कार्यमा ठेकेदारले अत्यन्तै ढिलासुस्ती गरेको बताए। ‘एक वर्षअघिदेखि सुरु गरिएको भएपनि बर्षायामको कारण देखाउँदै अहिले सुरु गरेका छन्,' उनले भने, ‘वडाका तर्फबाट पटकपटक निर्माण कार्य तीब्र पार्न दबाव दिइरहेका छौँ।’    

पुल निर्माण कार्यको अनुगमन र सुपरीवेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं २ का इन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताए। ‘पटकपटक मौखिक रुपमा निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिइरहेका छौँ,’ उनले भने, ‘सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १० प्रतिशत मात्र भएको छ।’  

कुल १४ करोड लागतमा निर्माण सुरु गरिएको पुल एक सय ४० मिटर लम्बाईको रहेको छ। पुलको गत वर्षको पुस महिनामा प्रतिनिधिसभाका सांसद भूमि त्रिपाठीले शिलान्यास गरेका थिए।

 

प्रकाशित: ५ पुस २०७६ ०७:२३ शनिबार

पुल_निर्माण अलपत्र