समाज

उदयपुरमा प्रदेशकै उत्कृष्ट ‘मदन भण्डारी स्मृति सभाहल’

गाईघाटमा निर्माणाधीन प्रदेशकै उत्कृष्ट मदन भण्डारी सभाहल। तस्बिरः महेश्वर

उदयपुर- १ नं. प्रदेशकै उत्कृष्ट र महत्वपूर्ण आयोजना निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृह’ सदरमुकाम गाईघाटमा समयअगावै सकिने भएको छ। त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा निर्माणाधीन सभा भवनको काम अन्तिम तला र छाना हाल्ने ट्रसबाहेकको काम लगभग ७५ प्रतिशत सकिइसकेको छ।

२७ करोड लागत मूल्यको उक्त आयोजना सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजको प्राविधिक रेखदेखमा निर्माणाधीन छ। भवन निर्माणको सुरुवात ०७४ वैशाख १० गतेबाट भएको हो। तीनवर्ष अर्थात २०७७ वैशाख १० गतेभित्र निर्माण सक्ने सम्झौता अनुसार द्रुतगतिमा काम भईरहेको सघन कार्यालयका इन्जिनियर ब्रम्हदेव चौधरीले बताए। उनका अनुसार हालसम्म झण्डै ७५ प्रतिशत काम सम्पन्न भईसकेको छ भने सम्झौताको मिति आउँदो चैतभित्र तोकिए बमोजिम काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।

निर्माण कम्पनी रविना/जोशी/पवित्र जेवीले म्यादभित्रै सक्नेगरी काम गरिरहेको जनाएको छ। कम्पनी प्रतिनिधि केदार दाहालले कार्यालयको निर्देशन अनुसार दु्रतगतिमा काम भईरहेको बताए। गाईघाटकै स्थानीय व्यवसायी रहेका दाहालले आप्mनै ठाउँको र प्रदेशकै महत्वपूर्ण योजना भएकाले छिटो र गुणस्तरीय तथा तोकिएको म्यादभित्रै सक्नेगरी काम भईरहेको बताए।

राष्ट्रिय गौरवको आयोजनामा गनिएको उक्त सभा भवनलाई उदयपुरको ‘आईकन प्रोजेक्ट’ को रुपमा स्थानीयले लिएका छन्। ‘यो योजना उदयपुरको मात्र नभएर प्रदेशकै अगुवा र राष्ट्रिय महत्व बोकेको प्रोजेक्ट हो’ निर्माण व्यवसायी दाहालले भने ‘त्यसैले पनि गुणस्तरीय र म्यादभित्रै सक्नेगरी निर्माणमा लागिरहेका छौं।’

आयोजना कार्यालय प्रमुख (डिई) रमेश थिङले घोषित योजना अनुसार ०७४ देखि सभा भवन निर्माण थालिएको हो। अपेक्षाकृत छिटो भईरहेको सभा भवन हवाईफिल्डको दक्षिणोत्तर २ विघा क्षेत्रफल जमिनमा व्यवस्थित पार्किङ, पुरुष–महिला र अपाङ्गमैत्री शौचालय, अतिथि सदन, चमेना गृह, कर्मचारी आवाससहितको हुने डिई थिङले बताएका छन्। उनका अनुसार भवनमा १ हजार ५ सय क्षमताको ठूलो र ५ सय क्षमताको सानो गरी २ वटा सभाकक्ष हुनेछन्।

भवन परिसरभित्र भूमिगत पार्किङ, चारैतिर हरियालीयुक्त फुलबारी र पश्चिमतर्फ मुख्य प्रवेशद्वार तथा बाँकी दिसातर्पm वहिरगमनद्वार हुने प्राविधिक इस्टीमेट छ। सभाकक्षभित्रै  खानेपानी, शौचालय, बैठककक्ष, कर्मचारीकक्ष, आवासकक्ष, सुरक्षापोष्ट तथा अतिथि आवास र चमेना गृह निर्माण गरिने डिई थिङले जानकारी दिए।

दुईमध्ये ५ सय क्षमताको सानो सभाकक्षको निर्माण भने अन्तिम चरणमा पुगेको छ। सानो सभाकक्षको छानाका लागि ट्रस लगाई सकिएको छ भने कर्कटपाता हाल्न र वातानुकुलित यन्त्र (एसी) जडान तथा विद्युत वाईरिङ कार्यको काम थालिएको छ। लगभग एकडेढ महिनाभित्र सानो सभाकक्ष सञ्चालन गर्न मिल्ने गरी निर्माण सकिने डिई थिङको भनाई छ।

सुरुमा कन्टीजेन्सी र मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक २४ करोड ९ लाख ४१ हजार १ सय ८७ रुपैयाँ ६० पैसाको लागत स्वीकृत भएको योजना एकवर्षपछि परिमार्जित इस्टीमेट (भेरिफकेसन अर्डन) ‘भिओ’ गर्दा २७ करोड हाराहारी लागत पुगेको छ। अहिलेसम्म सबै संरचना ‘कङ्क्रिट’ काम भएको योजनाको भुक्तानी हालसम्म १७ करोड ५० लाख हाराहारी पाईसकेको निर्माण कम्पनीले जनाएको छ।

तत्कालीन सरकारले आर्थिकवर्ष ०७२/७३ मा देशभरका २५ नगरपालिकालाई ‘स्मार्ट सिटी’ घोषणा गर्दा उदयपुरको त्रियुगा नगरपालिका पनि समेटिएको थियो। त्रियुगालाई स्मार्ट सिटी बनाउने घोषणासँगै प्रदेशस्तरीय सभाभवन, ‘एक नगर एक पहिचान’ कार्यक्रम र आधुनिक र अन्तराष्ट्रिय मापदण्डको बसपार्क बनाउने योजनासहित बृहत विकासको अवधारणा अघि सारिएको थियो।

उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालीन सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको अगुवाईमा सभाभवनका लागि ४६ अर्ब र एक नगर एक पहिचान कार्यक्रमलाई ७५ करोड तथा अत्याधुनिक बसपार्क बनाउने गरी राष्ट्रिय योजना आयोग (रातो किताव)मा पारिएको थियो। जस अनुसार सभाभवन निर्माणाधीन रहेको छ भने क्रमागत योजनाका रुपमा एक नगर एक पहिचान कार्यक्रम पनि ०७५/७६ बाट सुरु भईसकेको कार्यालयले जनाएको छ।

 

प्रकाशित: ४ पुस २०७६ १२:१६ शुक्रबार

उदयपुर प्रदेश मदन_भण्डारी_स्मृति_सभाहल