समाज

मेलाका लागि बिदा दिने निर्णयविरुद्ध गाउँपालिका प्रवक्ता

ताप्लेजुङ- ऐतिहासिक पुसे मेलाको अवसर पारेर ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दिएको ३ दिनको स्थानीय बिदाप्रति गाउँपालिकाकै प्रवक्ताले आपत्ति जनाएका छन्। गाउँपालिका प्रवक्ता सूर्यमान बराईलीले बुधबार सामाजिक सञ्जालमा टिप्पणी पोष्ट गर्दै बिदा दिने निर्णय प्रति आफ्नो गम्भिर असहमति रहेको उल्लेख गरेका छन्।

गत मंसिर ३० गतेको कार्यपालिकाको निर्णय भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेद्वारा जारी विज्ञप्तीमा पुस २ गते बुधबारदेखि ४ गते शुक्रबारसम्म सार्वजनिक बिदा दिएको जनाइएको थियो। प्रवक्ता बराईलीले आफू सो दिनको बैठकमा अनुपस्थित भएको तर कार्यपालिकाले यस्तो अनपेक्षित निर्णय गर्ला भन्ने नसोचे पनि अकस्मात ३–३ दिनसम्मको स्थानीय बिदा जायज नभएको उल्लेख गरेका छन्।

पुसे मेला ऐतिहासिक मेला भएको उल्लेख गर्दै स्थानीय पर्वको रुपमा मनाउन मेरिङ्देन गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पुसे मेलाको अवसरमा गाउँपालिकाभरका सरकारी कार्यालय, शिक्षण संस्था, अन्य सङ्घ÷संस्था लगायतका निकायहरुमा बिदा लागू हुने सो सूचनामा उल्लेख गरिएको छ। पुसे मेला मेरिङ्देन–३ खाम्लुङको दोभान र आठराई त्रिबेणी गाउँपालिका–५ चाँगे पुछार दुवैतिर लाग्ने गरेको छ।

प्रकाशित: २ पुस २०७६ ११:०७ बुधबार

मेला बिदा निर्णय गाउँपालिका