समाज

सडकमा अण्डा फुटाएर प्रदर्शन

चितवन- आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन्। अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट सुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो। नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक सङ्घका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए। उनले बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै र्‍यालीसमेत निकालेका थिए। उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ‘देशभरिबाट गिरफ्तार किसान तुरुन्त रिहा गर’ लगायतका नारा लगाएका थिए। चितवनमा करिब ४०० जना अण्डा उत्पादक किसान रहेका छन्।

केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो। रासस

प्रकाशित: १ पुस २०७६ १५:०४ मंगलबार

सडक अण्डा प्रदर्शन