समाज

हिमपातपछि कष्टकर बन्यो सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा हिमपात पछिको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। मसिर २६ बिहीबार साँझदेखि परेको झरीपछि शुक्रबार बिहानैदेखि भएको हिमपातपछी यहाँका स्थानीयहरुले जाडो मौसमको चिसोको समस्यासँगै विद्युत, सूचना, सञ्चार, यातयातलगायतका बिभिन्न समस्याको सामाना गर्नु पर्‍यो।

अवरुद्ध राजमार्गहरु सञ्चालनमा आएपछि दुई/तिन दिनसम्म हिउँपरेको जंगल क्षेत्रमा अलपत्र परेका यात्रुहरु गन्तब्यमा पुगीसके पनि अन्य असर र प्रभाव भने अहिलेसम्म पनि परेका छन्।

ईन्टरनेट नहुँदा बैँक तथा बित्तिय संस्थाका कारोबार ठप्प छन्। सरकारी कार्यालय, गैर सरकारी संघ संस्थाहरुले ईन्टरनेटका माध्यमबाट गर्ने कामसमेत ठप्प भएका छन्।  

ईन्टरनेट सेवा प्रादायक संस्था वल्र्डलिंक, सुविसु र भायो नेट नहुँदा स्थानीयलाई सास्ती छ। शुक्रबार भएको हिमपातपछि यहाँका सबै ईन्टरनेट सेवा बन्द भएका थिए। नेपाल टेलिकमको एडिएसएल ईन्टरनेट सेवा आईतबार दिउँसोदेखि सञ्चालनमा आए पनि अन्य ईन्टरनेट सेवा अहिलेसम्म सुचारु हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ।

हिमपातपछि डडेल्धुरा सदरमुकाम क्षेत्रमा रहेका एफ/एम रेडियोहरुसमेत बन्द भए। शुक्रबार बिहान करिब ८ बजे परेको चट्याङ्गले यहाँ रहेका चारवटा एफ/एफ रेडियो मध्ये दुईवटामा असर पर्‍यो। विद्युत लाईन बेला बेलामा आउने जाने भएकाले अरु एफ/एम रेडियोहरुसमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेनन्। अत्यधिक चिसोका कारण एफ/एम रेडियोहरुको ट्रान्समिटर पनि खुल्न नसक्दा दैनिक समयअनुसार सञ्चालन गर्न नसकेको सामुदायिक रेडियो सुदूरआवाजका स्टेशन म्यानेजर राम खत्रीले बताए। अहिले जिल्ला सदरमुकामका दुईवटा रेडियो सञ्चालनमा छन्।

ईन्टरनेट सेवा सुचारु हुन नसक्दा आमसञ्चारका माध्यमहरु, व्यापारीहरुले बढी सास्ती खेप्नु परेको छ। ईन्टरनेट नहुँदा खबर आदानप्रदान र प्रशारण गर्न नसकेको सञ्चारकर्मीहरुको भनाई छ। अहिलेको परिवेसमा अधिकांश काम ईन्टरनेटका माध्यमबाट गरिने भएकाले उद्योगी व्यापारीहरुले पनि खबर आदानप्रदानका साथसाथै वस्तु आयात निर्यातमा समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए।

सोमबार नेपाल विद्युत प्राधिकरण बितरण शाखा डडेल्धुराले करिब १२ घण्टा बढी समयसम्म विद्युत आपूर्ती गर्न नसक्दा यसको प्रभाव थुप्रै क्षेत्रमा पर्‍यो। सामाजीक सञ्जाल फेसबुक, ट्वीटर, ईन्टाग्राम, ईमो, ह्वट्सअप लगायत ईमेल/ईन्टरनेटमार्फत सन्देश तथा समाचारहरु आदानप्रदान गर्ने, पढ्ने देशबिदेशका खबरहरु थाहाँ पाउनबाटसमेत यहाँका स्थानीय बञ्चीत भएका छन्।

 

प्रकाशित: १ पुस २०७६ ०९:५४ मंगलबार

हिमपात कष्टकर सुदूरपश्चिम जनजीवन