समाज

पानी पर्दा घटेको प्रदूषण पुनः बढ्यो

काठमाडौं – पश्चिमी वायुका कारण शुक्रबार र शनिबार पानी पर्दा घटेको राजधानीको प्रदूषण आइतबार पुनः अस्वस्थकर स्थितिमा पुगेको छ। पानीपर्दा राजधानीको प्रदूषण घटेको थियो पश्चिमी वायुका कारण चिसो पनि उत्तिकै बढेको थियो।

पानी पर्दैगर्दा शुक्रबार बिहान ९ बजे वायुमण्डलमा पीएम २.५ को स्तर १५४ सम्म पुगेको थियो, जुन स्वास्थ्यको लागि खतराजनक हो। प्रदूषण मापनका लागि दृष्टि समूहले उपत्यकामा राखेका उपत्यकामा रहेका १४ वटा स्टेशनहरूको घण्टै पिच्छेको दुषणको तथ्यांकले सो देखाएका थिए। प्रति घण्टा वायुमा ४० माइक्रोग्राम सूक्ष्मकणहरू भएको वायुलाई नेपालमा पीएम २.५ को हिसाबले गुणस्तरीय वायु भनेर मानिन्छ।

पानी पर्न सुरु भएसंगै शुक्रबारबाट घटन सुरु गरेको पीएम २.५ को प्रदुषणको स्तर शनिबार बिहान ९ बजे ४६ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो। तर पानी पर्न रोकीएपछि आइतबार बिहान ९ बजे यो फेरी उक्लेर ६८ र साँझ ८ बजे १०६ पुगेको थियो। ‘पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको प्रदूषणलाई घटाएकोमा आइतबारदेखि यो पूर्ववत स्थितिमा आएकोछ।’ वायु प्रदूषण नियन्त्रणमा नागरिकहरूद्वारा स्थापना गरिएको अभियान दृष्टिका अजय श्रेष्ठले बताए।

बढ्दो प्रदूषण राजधानीको जाडो समयको विशेषता छ र उपत्यकाको तापक्रम बिस्तारै घट्दै जाँदा त्यसको ठिक उल्टो धुवाँ र धुलोले राजधानीको प्रदूषण मापन आंकडा बढाएको छ।

हिउँदको मौसममा बाहिर खुल्ला स्थानमा आगो बाल्न नहुने, सार्वजनिक यातायतले निकाल्ने प्रदूषणलाई बढी नियमन गर्नुपर्ने, राजधानीमा रहेको इँटा भट्टाले गर्ने प्रदूषणलाई न्यूनीकरण गर्नुपर्ने र वायु प्रदूषणबारे साधारणमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने विशेषज्ञको सुझाव छ। राजधानीमा मात्र १२ लाख मोटरसाइकल र तीन लाखभन्दा बढी चारपांग्रे गाडी रहेको यातायात विभागको तथ्यांकले छ।

प्रकाशित: ३० मंसिर २०७६ ०४:२७ सोमबार

प्रदूषण