समाज

कर्णाली सरकारले छोरी सुरक्षा कार्यक्रम जाजरकोटबाट सुरु गर्ने

छोरी सुरक्षा कार्यक्रमबारे जाजरकोटमा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला। तस्बिर:जनक/नागरिक

जाजरकोट- कर्णाली प्रदेश सरकारले जाजरकोटबाट छोरी सुरक्षा कार्यक्रम सुरु गर्ने भएको छ। छोरीहरुको लागि स्वर्णिम भविष्य निर्माणमा सहयोग पुर्‍याउन आगामी वर्षदेखि छोरी जन्मिने बित्तिकै बैंकमा एक हजारको खाता खोल्ने प्रदेश सरकारले तयारी गरेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए।

उनले यो छोरी सुरक्षा कार्यक्रम जाजरकोटबाटै सुरु गर्ने तयारीमा आफुहरु लागेको पनि बताए। मन्त्री ज्वालाले उक्त कुरा केहि दिनअघि जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा बताएका हुन्। मन्त्री ज्वालाले दुई सन्तान  अर्थात छोराछोरी या छोरीछोरी जन्माउने परिवारका लागि मात्र यो योजना लागू हुने बताए।

छोरीहरुका लागि सुन्दर र सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउन लगातार दुई छोरी जन्मिए या एउटा मात्र छोरी जन्मिए पनि उनको नाममा प्रदेश सरकारले एक हजारको बैंक खाता खोल्दै मासिक रुपमा ५ सय रुपैयाँ २० वर्षसम्म जम्मा गरिदिने पनि बताए।

छोरीको नाममा जम्मा हुने रकमको लगानीबाट हुने नाफा र सावा सबै जोडेर छोरीको जीवन आत्मनिर्भर र सुन्दर भविष्य निर्माणमा सहयोग गर्ने सरकारको लक्ष रहेको मन्त्री ज्वालाले बताए। सरकारले बैंक खाता खोलिदिएपछि र मासिक बचत गर्न सुरु गरेपछि  २० वर्षसम्म विहे गर्न नपाइने, विद्यालयको पढाइ छोड्न नपाइने र आफुलाई आत्मनिर्भर बनाउने काममा सधै सकारात्मक क्रियाकलापमा सहभागी हुनुपर्ने सर्तहरु राखिने पनि मन्त्री ज्वालाले बताए।

बाल विवाहको दर स्कुले केटाकेटीहरुमा भयावह देखिएको यसले समाजमा धेरै प्रकारका समस्याहरु बढ्दै गएकोले  यसलाई नियन्त्रण गर्न आफुहरुले छोरी सुरक्षा कार्यक्रम सुरु गर्न लागेको पनि मन्त्री ज्वालाले बताए। कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगत छोरी सुरक्षा कार्यक्रम सन्चालन गर्न लागेको  बताइएको छ।

कर्णाली प्रदेशका जाजरकोट लगाएतका जिल्लाहरुमा वालविवाहको दर उच्च रहेको र यसलाई नियन्त्रण गर्नका लागि सरकारले  उचित रुपमा दिर्घकालीन नीति र पहल लिनुपर्ने सरोकारवालाहरुको भनाइ छ।

 

प्रकाशित: २९ मंसिर २०७६ ०८:३१ आइतबार

कर्णाली सरकार छोरी_सुरक्षा_कार्यक्रम