समाज

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात

ताप्लेजुङ -  पुस अन्तिम र माघमा मात्र हिमपात हुने ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात भएको छ। शुक्रबारदेखि सुरु भएको हिमपात पानी पर्ने क्रम जारी रहेकोले अझैं राकिएको छैन। शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ।

पानी र हिमपातले सुकेटार विमानस्थमा हुने उडान समेत प्रभावित भएको विमानस्थलका कर्मचारीले बताएका छन्। माथिल्लो फेदीका होटल व्यवसायी राजेन्द्र महतले डेढफिट बढी हिउँ जमेको बताए। पाथीभरा मन्दिर क्षेत्रमा अझै बढी हिउँ जमेको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सामाजिक सञ्जालमार्फत हिमपात भैरहेकोले पाथीभरा क्षेत्रका तीर्थालुले होसियारी अपनाउनु पर्ने उल्लेख गरेका छन्। शुक्रवार अपरान्हबाट पर्न थालेको पानी र हुस्सु नरोकिएकोले लगातार हिमपात भैरहेको हो।

सिजनको पहिलो पटक नै हिउँ तल्लो क्षेत्रसम्म आई पुगेको मेरिङ्देन गाउँपालिकाको नाल्बुका सूर्यमान बराईलीले बताए। उनका अनुसार फुङ्फुङ्गे झरनाको तल्लो भागसम्म नै हिउँ आई पुगेको छ। यहाँका ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा भने शुक्रवार अपरान्हबाट हिमपात सुरु भएको थियो। उच्च हिमाली क्षेत्र पापुङ,तोक्पेगोला,लेलेपको घुन्सा,ओलाङ्चुङगोला र याङ्मासहितका स्थानमा भने शुक्रवारबाटै हिमपात भैरहेको छ। शनिवार बिहान मापन गरिएको ताप्लेजुङको न्यूनतम् तापक्रम ४.६ डिगी सेल्सियस रहेको जल तथा मौसम विभाग फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ। कार्यालयका कर्मचारी गणेश थापाका अनुसार यहाँ ३६ मिलिमिटर वर्षा भएको छ।

 ७ कोरियन पर्यटक र २१ सहयोगीको बिजोग

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको भ्रमणमा गएका ७ कोरियन र उनका २१ नेपाली सहयोगी घुन्सामाथिको भागमा वर्षा र हिमपातले समस्यामा परेका छन्।‘ घुन्साका स्थानीय होटल ब्यवसायी टाँसीतेञ्जिङ शेर्पाका अनुसार घुन्सातर्फ फर्कन पनि समस्या भएको छ। त्यो भन्दा उता जान त झन् कठिनाईको सामना यो टोलीले गरिरहेको उनको भनाई छ।

प्रकाशित: २८ मंसिर २०७६ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App