समाज

पाथीभरा क्षेत्रमा बर्सियो हिउँ

ताप्लेजुङ – ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार अपराह्नबाट हिमपात सुरु भएको छ। पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा अपराह्न साढे ४ बजेदेखि हल्का हिमपात सुरु भएको माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीका हवल्दार धनराज लिम्बूले जानकारी दिए। माथिल्लो फेदीका बस्तीमा हिमपात भएपछि पाथीभरा मन्दिरसहितका स्थान भने मजैले हिउँ बर्सने गर्छ। उच्च हिमाली क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पापुङमा सामान्य वर्षासहित हिमपात सुरु भएको छ। पापुङका वडाध्यक्ष डण्डु शेर्पाले छिटफुट वर्षासँगै हल्का हिमपात सुरु भएको बताए।

घमाइलो मौसममा बिहीबार बिहानैबाट परिवर्तन आए पनि बिहीबार दिउँसोसम्म हिमपात भएको थिएन। माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा भने चिसोको मात्रा बढ्दै गएको छ। दिउँसोसम्म केही न्यानो भएको मौसम शुक्रबार दिउँसोबाट भने निकै चिसो बनेको थियो। सदरमुकाम फुङ्लिङसहितका स्थानमा समेत वर्षा भएको छ। दर्के पानी परेकाले जाडोसमेत बढेको छ। स्थानीयले यो वर्षालाई माथिल्लो क्षेत्रमा परेको हिउँको छार्कोका रूपमा व्याख्या गरेका छन्। सदरमुकाम फुङ्लिङ आइपुगेको ओलाङ्चुङ्गोलाका स्थानीय छेतेन शेर्पाले गोलालगायत उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७६ ०२:४२ शनिबार

पाथीभरा_क्षेत्र